सरकार नहुने कुरामा बढि केन्द्रित भयाेः डा. रामशरण महत

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार नहुने कुरामा बढि केन्द्रित भएको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान सरकारले बकुम्फुसे र हावादारी कुरा गरेर समय खेर फालिरहेको आरोप लगाएका हुन् । सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा गरेर समय खेर फालेको डा. महतले बताए ।”

सरकारले वास्तविक आवश्यकता र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको डा. महतको आरोप छ । डा. महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्ने माग राखे । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । डा. महतले टिप्पणी गर्दै भने अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा हाे ।

आर्थिक विकास र समृद्धि हासिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ भन्नेमा डा. महतको जोड छ । डा. महतले अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि सुनाए । संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकता छ ।” डा. महतले थपे । डा. महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको बताए । अहिले देशभरि ७६१ सरकार छन् । तर, उनीहरुको बीचमा अधिकार र साधन स्रोतको बाँडफाँटको कारणले राम्रो सम्बन्ध छैन । तीनै तहबीच अहिले प्रशस्त विवाद छन् । अधिकारको लागि तँछाडमछाँडको अवस्था छ । उनीहरुबीच अधिकार र शक्ति विभाजनको नाममा अहिलेपनि विवाद रहेको प्रष्ट छ । संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित भएको छैनन् ।