टीकापुर घटनाका सबै बन्दीहरुलाई अलिलम्ब रिहा गर्न माग

प्रकाशित मिति:

काठमाडौं– थारु कल्याणकारिणी सभाले ७ भदौ २०७२ मा भएको टीकापुर घटनापछि पक्राउ परेका नेता तथा कार्यकर्ताको अबिलम्ब रिहाइको माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै सभाले सबै नेता तथा कार्यकर्ताको अबिलम्ब रिहाइको माग गरेको हो । २ भदौ २०७२ मा भएको घटना विशुद्ध राजनीतिक घटना भएकाले त्यसका समाधान पनि राजनीतिक सहमतिकै आधारमा गरिनुपर्ने सभाको माग छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले बुझाएको ज्ञापनपत्रमा ६ बुँदे माग प्रस्तुत गरिएको छ । ६ बुँदे मागको पहिलो बुँदामै टीकापुर घटनाकासन्दर्भमा थारु नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दाहरु फिर्ता गरी अबिलम्ब रिहाइको माग गरिएको छ । सभाले स्थानीय तहमा कर्मचारी भर्ना गर्ने गरी लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गरी राज्यको हरेक अंगमा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन हुनुपर्ने माग पनि गरेको छ । ज्ञापन पत्र बुझ्दै नेकपा अध्यक्ष प्रचण्डले थारुहरुका मागप्रति आफू सकरात्मक भएको बताए । सभाले उठाएका मागहरु सम्बोधनका विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गर्ने प्रचण्डको भनाइ थियो ।