पिठो बेच्नेहरु सल्बलाए, मैले चामल बेच्न जानिनँ : अर्थमन्त्री डा.खतिवडा

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गराउने प्रयास भइरहेको बताएका छन् । मन्त्री खतिवडाले आफूले अर्थतन्त्रमा उल्लेख्य सुधारको आत्मसात् गराए पनि सरकारविरुद्ध भ्रम छर्ने तत्व सल्बलाएको दाबी गरेका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै खतिवडाले आफूसँग चामल भए पनि बेच्न नसकेको टिप्पणी गरे । तर, भ्रम छर्नेहरु भने पिठो बेचेर हिँडिरहेको दाबी उनको छ ।

खतिवडाले गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको दाबी गर्दै सबै क्षेत्र स्वस्थकर गतिमा अघि बढिरहेको बताए । खतिवडाले भने, ‘केही तत्वहरु सरकार, निजी क्षेत्र तथा अन्तर्रा्ष्ट्रिय संस्थाले सार्वजनिक गरेको समृद्धिको तथ्यांकलाई मिथ्या भनेर रिपोर्टिङ गरिएको रहेछ । यसले भ्रम छर्नेहरु निकै सक्रिय छन् भन्ने देखिन्छ ।’ अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तर्राष्ट्रिय दाताहरुलाई भ्रम छर्ने कामप्रति उनको आपत्ति छ । यस्तो कार्यले कसैलाई पनि फाइदा नपुर्याउने दाबी उनको छ । उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने सुझाव दिए ।

खतिवडाले पुँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायलाई पनि निर्देशन दिए । उनले भने, ‘तपाईंहरु आफ्नो काम गर्नुस् । अर्थ मन्त्रालय तपाईंहरुजस्ता नियामक निकायको पनि नियामक निकाय बन्नु नपरोस् ।’ उनले सरकारले उत्पादनमा जोड दिएर पुँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दाबी पनि गरे । खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि बताएका छन् । मन्त्री खतिवडाले सञ्चारकर्मीहरुलाई कुनै पूर्वाग्रह बिना समाचार लेख्न आग्रह गरे । उनले भने,‘तपाईंहरु चस्माको माध्यमबाट नहेर्नुस् । खुला नजरले हेरेर सत्य समाचार सम्प्रेषण गर्नुहोस् ।’