काठमाडौंका सडकमा भोलिबाट विद्युतीय बस सञ्चालनमा आउने

प्रकाशित मिति:

काठमाडौं-काठमाडौं उपत्यकामा सोमबारबाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ ।दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ।सुन्दर यातायात प्रालिले थप ५ वटा ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।

विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ । यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।बस ४० सिट क्षमताका छन्। कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ।कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ।कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो प्रणाली हाल परीक्षणका क्रममा छ।