युएईबाट घरेलु महिला कामदारलाई पुन: श्रम स्वीकृति दिन शुरु

प्रकाशित मिति:

काठमाडौं – सरकारले घरेलु महिला कामदारका रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पुनः श्रम स्वीकृति जारी गर्ने काम शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ गते निश्चित प्रक्रिया पुरा गरेका घरेलु श्रमिकका रुपमा कार्यरत महिलालाई पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार संयुक्त अरब ईमिरेट्स (युएई)स्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति वितरण काम शुरु गरेको छ । दूतावासले पुन: श्रम स्वीकृति आवश्यक परेमा आवश्यक कागजात सहित सिफारिसका लागि निवेदन दिन सुचना प्रकाशित गरेको छ । दूतावासले अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रतिपिलि, करारसहित राहदानीको प्रतिलिपि, घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिएर गएको श्रम स्वीकृतिको प्रमाण र घर फर्किँदा रोजगारदाताले दिने सुरक्षाको ग्यारेन्टीसहितको प्रमाण पेश गर्नुपर्ने जनाएको छ । तलब र अन्य सुविधाका कागजात पनि पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।