‘भद्रगोल’का ‘जिग्री’ र ‘पाँडे’ले नयाँ टेलिश्रृङ्खला ल्याउँदै, नाम गोप्य राखियो

प्रकाशित मिति:

काठमाडौं – चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका साथ देखिने भएको छ । सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका हुन् । श्रृखलाको नाम भने अहिले गोप्य राखिएको छ ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । श्रृखलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् । ‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग छ । उसले पुरानै भद्रगोलको नयाँ कलाकार लिएर निरन्तरता दिइसकेकोले यसका युनिटले अर्काे निर्माण गर्नु परेको हो । श्रृङ्खला असोज २ गतेदेखि हरेक बिहीबार राती ८ :५०मा नेपाल टेलिभिजनबाट प्रसारण आउने बताइएको छ ।