म्याग्दीमा कुटपिटबाट एकको मृत्यु, ३ जना पक्राउ

प्रकाशित मिति:

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ खवाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका ४६ वर्षीय मतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘परियारको उपचारको क्रममा शनिबार मृत्यु भएको हो।’ शव परीक्षणपछि सदगद्का लागि सोमबार बिहान दरवाङ लगिएको छ।

कुटपिटमा संलग्न रुमका ओमकार बुढा, नेत्र बुढा र नविन पुनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो। उनीहरु विरुद्ध जिल्ला अदालत म्याग्दीमा आइतबार ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान सुरु भएको छ। बुढाद्धय र पुनले परियारको घरमै आएर कुटपिट गरेका थिए। मृतकको दाहिने कोखा र टाउकोको देव्रे भागमा रगत जमेको थियो। परियारलाई शुक्रबार दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पोखरा रिफर गरेको थियो। स्थानीयका अनुसार पीडकले लेनदेन र राजनीतिक पहुँचको आधारमा घटना लुकाउन दबाब दिएका थिए। ढाकछोप गर्न खोजिएका कारण घटना ढिलागरी सार्वजनिक भएको हो। कुटपिटमा संलग्न ओमकार वडा सदस्य हिरा बुढाका छोरा हुनुहुन्छ ।