कीर्गिस्तानलाई ८ गोल हानेको नेपाल उज्वेकिस्तानसँग पराजित

प्रकाशित मिति:

काठमाडौं- कीर्गिस्तानमा भइरहेको नादेझ्दा कपमा नेपाली महिला टिम उज्वेकिस्तानसँग २-० गोल अन्तरले पराजित भएको छ। सोमबार भएको खेलमा केही राम्रा अवसर खेर फाल्दा नेपाल गोलविहीन भएको हो। पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा थप एक गोल गरेको हो। ४९ औँ मिनेटमा भएको गोलमा नेपाली डिफेन्सको तालमेल बिग्रिएको फाइदा उज्वेकिस्तानले उठाएको थियो।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि कीर्गिस्तान गएको नेपाली टोलीले आइतबार ८-२ को अन्तरमा आयोजक टोली कीर्गिस्तानलाई नै हराएको थियो। कीर्गिस्तानविरुद्ध नेपालकी सावित्रा भण्डारीले ४ गोल गरेकी थिइन्। साथै अनिता बस्नेतले २, दिपा राई र निरु थापाले १÷१ गोल गरेका थिए। आइतबार नै उज्वेकिस्तानले ताजिकिस्तानलाई १२-० ले हराएको थियो। यसअर्थमा बलियो टोली उज्वेकिस्तानसँग नेपालले सम्हालिएर खेलेको हो। प्रतियोगितामा नेपाल, कीर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सहभागी छन्। शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। सहभागी सबै टिमले पाँच दिनमा नै चार खेल खेल्ने तालिका रहेको थियो। जसअनुसार नेपालले तेस्रो खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्नेछ। बुधबार एक दिन मात्रै विश्रामपछि तेस्रो स्थानका लागि हुने खेलसँगै फाइनल खेल बिहीबार हुनेछ।