काठमाण्डौं – अब जो पायो त्यही बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा जान नपाउने भएको छ। सञ्चालक हुनका लागि अनुभवले मात्र पुग्दैन, अबदेखि शैक्षिक योग्यता पनि आवश्यक पर्ने छ। विद्यमान बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा सञ्चालक हुनका लागि अनुभवलाई पनि प्राथमिकता दिइएको थियो। अब भने कम्तिमा स्नातक गरेको ब्यक्ति मात्र सञ्चालक हुन पाउने भएको छ। सञ्चालक समिति सदस्यका लागि उमेर हद पनि तोकिएको छ। अब ६५ बर्षसम्म मात्र सञ्चालक हुन पाइने छ। सरकारले स्वीकृत गरेको बाफिया (पहिलो संशोधन) ऐन २०७६ मा सञ्चालकको कार्यकाल पनि तोकिएको छ। अघिल्लो पटक बाफिया संशोधन हुँदा पनि कार्यकालको ब्यवस्था गरिएको थियो। अन्तिम समयमा आएर सञ्चालकको कार्यकाल हटाइएको थियो।
यसपाली भने निरन्तर दुई कार्यकालभन्दा बढि सञ्चालक हुन नपाइने भएको छ। दुई कार्यकाल पुरा गरेपछि एक कार्यकाल खाली बस्नु पर्ने छ। त्यसपछि फेरि दुई कार्यकाल खान पाइने छ। विधेयको मस्यौदामा भनिएको छ – सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढिमा चार बर्षको हुने छ र निज पुन: एक कार्यकालको लागि नियुक्ति वा मनोनित भइ लगातार दुई कार्यकालसम्म मात्र कायम रहन सक्नेछ। तर लगातार दुई कार्यकाल पुरा गरेको सञ्चालक चार बर्षपछि पुन: सोही संस्थाको सञ्चालकमा मनोनित वा निर्वाचित हुन बाधा पर्ने छैन।