रुपन्देही उद्योग संघको टोली मस्को पुग्यो

प्रकाशित मिति:

बुटवल – दुवई र रशियाको औद्योगिक भ्रमणमा रहेको रुपन्देही उद्योग संघको टोली चार दिने दुवई बसाई सकाएर सोमवार रशियाको राजधानी मस्को पुगेको छ ।  संघको बार्षिक कार्यक्रम अन्तरगत औद्योगिक भ्रमण टोलीको नेतृत्व संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले गर्नु भएको छ । गत बुधबार नेपालबाट दुबई गएको भ्रमण टोलीले त्यहाँ चार दिन विताएको थियो । त्यसक्रममा केही औद्योगिक प्रतिष्ठान तथा त्यहा“को विकास निमार्णसँगै पर्यटकिय क्षेत्रहरुको अवलोकन भ्रमण गरेको भ्रमण टोलीमा रहनु भएका संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।

दुवईको बसाई पछि संघको टोली शक्तिशाली राष्ट्र रशियातर्फ लागेको हो । रशियामा रहँदा पनि केही औद्योगिक प्रतिष्ठानसँगै पर्यटकिय स्थल र भौतिक विकासको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष अधिकारीले बताउनु भयो ।  संघको पहलमा संघका पदाधिकारी, सदस्य तथा संघका साधारण सदस्य उद्योगिहरुको सहभागिता रहेको भ्रमण टोलीमा ४२ जना रहेका छन् । प्रमुख कार्यकारी अधिकृत भण्डारीले भ्रमण अहिलेसम्म निकै फलदायी बनेको बताउनु भयो ।  भ्रमण टोलीलाई बुटवलमा एक कार्यक्रमको आयोजना गरी संघका सल्लाहाकार परिषदका संयोजक महेन्द्रनारायण श्रेष्ठ तथा कार्यवाहक अध्यक्ष बाबुराम बोहोराले विदाई गर्नु भएको थियो । टोली भदौं २७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।