शर्माको निधनप्रति पत्रकार संघ संस्थाबाट दुःख व्यक्त

प्रकाशित मिति:

काठमाडौं – नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको बुवा यामप्रसाद शर्माको निधनप्रति विभिन्न संघ संस्थाले दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र प्रेस संगठन नेपालले शोक वक्तव्य जारी गरेर शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  नेपाल पत्रकार महासंघले दिवंगत शर्माको आत्माको चिरशान्तिको कामना गरेको छ । ‘महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ’, महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शर्माको निधनबाट आफ्नो संगठन स्तब्ध भएको जनाएको छ । ‘पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको बुवा यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा आज विहान भएको दुःखद निधनबाट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्तब्ध बनेको छ’, फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, ‘कीर्तिपुरस्थित आफ्नै निवासमा आज विहान ३ः०० बजे निधन हुनुभएका दिवंगत यामप्रसाद आचार्यप्रति फोनिज परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । महासंघका अध्यक्ष आचार्य लगायत शोकाकुल परिवारजनमा फोनिज गहिरो समवेदना व्यक्त गर्दछ ।’ प्रेस संगठन नेपालले यामप्रसाद आचार्यको निधनबाट संगठन मर्माहत बनेको जनाएको छ । ‘प्रेस संगठन, नेपाल यो शोकको घडीमा गहिरो दुःख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, संगठनका संयोजक महेश्वर दाहाल र सह–संयोजक गणेश बस्नेतद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

महासंघको बैठक सर्यो – नेपाल पत्रकार महासंघको भदौ २५ र २६ गते गोरखामा तय भएको केन्द्रीय समितिको बैठक केहीं दिनका लागि स्थगित भएको छ । अध्यक्ष आचार्य पितृ शोकमा परेपछि बैठक केहीं दिनका लागि सारिएको महासचिव विष्टले जानकारी दिएका छन् ।
शर्माको अन्त्येष्टि, सभामुख र पूर्वप्रधानमन्त्रीबाट श्रद्धाञ्जली व्यक्त दिवंगत यामप्रसाद शर्माको सोमबार विहान पशुपति स्थित आर्यघातमा अन्त्येष्टि गरिएको छ । उनको विहान सात बजे विद्युतीय शबदाहमा अन्त्येष्टि गरिएको हो ।  शर्माको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक पार्टीका नेताहरु र पत्रकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  २००७ चैतमा अर्घखाँचीमा जन्मिएका शर्माको सोमबार विहान ३ बजे कीर्तिपुरस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको परिवारमा श्रीमति मायादेवी, दुई छोरा (पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार/लेखक कृष्ण आचार्य) छोरी, बुहारी र नाती छन् । शर्मा लामो समयदेखि विरामी थिए ।

थप समाचार