सार्वजनिक बसमा कलेज पढ्ने एक युवतीमाथि यौन दुर्व्यवहार, पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ

प्रकाशित मिति:

काठमाडौं- सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। कलेज पढ्ने एक युवतीमाथि ललितपुरमा सार्वजनिक बसमा यौन दुर्व्यवहार गरेपछि बसमा भएका यात्रुले प्रहरीलाई खबर गरेका थिए। प्रहरीमा खबर आएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पूर्व सांसद घिसिङलाई पक्राउ गरेको हो। सांसद घिसिङलाई पक्राउ गरेको पुष्टि गर्दै ललितपुर प्रहरीका प्रवक्ता एसपी दुर्गा सिंहले भनिन्, ‘दुर्व्यवहार गरेको खबर आएपछि उहाँलाई पक्राउ गरिएको हो।

घटनाबारे थप बुझ्ने काम भइरहेको छ।’ प्रहरीले पीडित युवतीको जाहेरी लिएर घिसिङलाई अभद्र व्यवहारमा म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगेको छ। पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद भएका थिए। सार्वजनिक सवारीमा महिलामाथि हुने दुर्व्यवहार बारेमा महानगरीय प्रहरी कार्यालयले केही वर्षदेखि ‘सेफ्टी पिन’ अभियान सञ्चालन गरेर कारबाही गर्दै आएको छ। – नेपाललाइभ  बाट साभार ।