बिपी भन्नुहन्थ्यो– विकासको केन्द्रमा मनुष्य हुनुपर्छ

प्रकाशित मिति:

आजकै दिन, १०५ वर्षअघि एउटा मनुष्यको जन्म भएको थियो। उहाँको नाम थियो, विश्वेश्वर प्रसाद कोइराला। नेपाली समाजमा उहाँलाई महामानव भन्ने चलन छ। म उहाँप्रति श्रद्धासुमन टक्र्याउन चाहन्छु। त्यतिमात्रै होइन, उहाँको ऐतिहासिक महत्त्व किन हो, यस संसदले किन उहाँका प्रति साँच्चै नै श्रद्धा र आभार पेस गर्नुपर्दछ भन्ने बताउन चाहन्छु। उहाँको जीवन नेपाली इतिहासमा खुला किताबजस्तै छ। उहाँको जन्म, उहाँको पिताको प्रताडना, हिन्दूस्तानको स्वतन्त्रता आन्दोलनमा उहाँले भाग लिनुभएको तथ्य, राणा शासनको विरुद्धमा गर्नुभएको संघर्ष, राजा त्रिभुवनका महत्त्वाकांक्षाका विरुद्ध कानुनी र शान्तिपूर्ण तरिकाले लड्नुभएको लडाइँ, ०१५ सालको आम चुनाव र त्यसपछि राजा महेन्द्रद्वारा ८ वर्षको कैद र अर्को ७ वर्षको निर्वासन। यी सबै कुरा करिबकरिब हामीलाई थाहा छ। म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ, जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पनि पायो। उहाँको जीवनलाई मैले नजिकबाट हेर्ने सौभाग्य पाएँ।

सारा इतिहासका कुराका निम्ति उहाँ स्मरणीय हुनुहुन्छ। प्रात स्मरणीय हुनुहुन्छ। बिपीको जीवनमा महत्त्वपूर्ण कुरा आजको मितिमा आजको नेपाललाई चाहिएको एउटा केन्द्रीय अवधारणा छ। आज नेपालमा विद्यमान रहेको नेपालको संविधानले आफूलाई समाजवादोन्मुख भनेर घोषणा गरेको छ। बिपी कोइरालाले आजीवन आफूलाई समाजवादीको रुपमा प्रस्तुत गर्नुभयो। त्यही दिशामा उहाँका अध्ययन, प्रशिक्षण, लेख र पढाइ केन्द्रित रहे। बिपीको सुदीर्घ ऐतिहासिक जीवनको एउटा यस्तो तिथिको म यहाँ उल्लेख गर्न चाहन्छु। जो मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण छ। राणा शाहीको कालकोठरीमा आमरण अनसन गरेको तिथि होइन। ०१५ सालको चुनावपछि गिरफ्तार भएको तिथि होइन। १९५३ मा उहाँ एसियाइ समाजवादी सम्मेलनको स्थापना गर्ने क्रममा रंगुन पुग्नुभएको थियो। आफ्ना अनन्य मित्र कृष्णप्रसाद भट्टराई र धर्मपत्नी सुशीला कोइरालालाई लिएर रंगुनमा उहाँले समाजवादी सम्मेलनलाई स्थापना र सम्बोधन गर्नुभयो।

मैले आज यो किन भन्नु परेको छ भने, यहाँ विकासको कुरा भइरहेको छ। चीन र भारतको विकासको कुरा भइरहेको छ। तिनीहरुको वृद्धिदरको कुरा भइरहेको छ। अमेरिका र हिजोको रुसले उन्नति गरेको कुरा भइरहेको छ। बिपी समाजवादको त्यो धाराको प्रतिनिधित्व गर्नुहुन्थ्यो, जसले बारम्बार विकास, प्रगति र समाजवाद भनेको मनुष्यलाई केन्द्रमा राखेर गर्ने कुरा हो। बिपीको उद्धरण धेरैलाई याद होला। विकास एउटा आर्थिक र राजनीतिक प्रक्रिया मात्र होइन। मानवीय प्रक्रिया हो। मनुष्यलाई बलियो नगराउञ्जेल, उत्पीडितलाई अधिकार नदिउञ्जेल, गाँस बास कपास र शिक्षाको व्यवस्था नगराउञ्जेल समाजवादका नाममा यसो गर्छु, उसो गर्छु भन्ने हवाई कुराको कुनै मतलब छैन। बिपीले यो कुरा भन्नुभएको १९५३ मा हो। त्यसपछि आज झन्डै ७० वर्ष पुग्न आँटिसक्यो। यस अवधिमा विश्वले कोल्टे फेरेको छ। कुनै बेला विश्व समाजवादको राजधानी ठहरिएको सोभियत संघ भंग भएको छ। लगत्तै, चीन माओत्से तुङको सिद्धान्त माओवादलाई छोडेर विकासको नाममा पुँजीवादको अन्धानुकरण आत्मघाती बाटोमा जाँदैछ।

बिपीले त्यतिबेला एसियाइ सम्मेलनमा दुईचार वटा कुरा भन्नुभएको थियो। त्यो सम्झना गर्नु ठीक हुन्छ। कुनै पनि विकास, समाजवाद, साम्यवाद मनुष्यलाई केन्द्रमा राखेर गर्नुपर्छ। मनुष्य साध्य हो, साधन होइन। विकास हुँदैछ, दुई चार जना मान्छे मरे मरुन्, दुईचार वटा महिला बलत्कृत भए होउन् भन्न पाइँदैन। प्रत्येक मनुष्य साध्य हो। यो बिपीको मान्यता थियो। उनको त्यही मान्यतालाई अगाडि बढाउँदै जयप्रकाश नारायण र डा राममनोहर लोहिया जस्ता भारतीय सहकर्मीहरुले विशाल सिद्धान्तको भण्डार खडा गरेका छन्।विश्वमा आज वैकल्पिक मार्गमा हिँडौं भन्ने माग छ। बिपीले बारम्बार भन्नुभयो, विकासको पश्चिमी नक्कल गरेर नेपाल बाटोमा पुग्न सक्दैन। यो के भनेको हो? म नेपालका पिएचडी, डाक्टर, बुद्धिजीवी, विद्वान, प्रधानमन्त्री र राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु। बिपीले तीन वटामा जहिले पनि जोड दिनुभयो  पहिले, (लक्ष्मीप्रसाद) देवकोटाका शब्दमा भन्ने हो भने, आर्तरहेका चहर्‍याइरहेका घाउमा मल्हम लगाऊ। प्रत्येक व्यक्तिको आँखाको आँसु सुकोस्। त्यसका विकासको नाममा नबढाऊ। बिपीले भन्नुभएको थियो, गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो। अब गाउँको कुरा रहेन। तर भन्न खोजिएको के भने, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजगारी र गुप्तबेरोजगारीलाई सम्बोधन गर्नुहोस्। बृद्धिदरका नाममा ठूल्ठूला हवाइजहाज, ठूल्ठूला एयरपोर्ट, ठूल्ठूला मोनोरेल, ठूल्ठूला जहाजका कुरा गरीकन जनतालाई भ्रमित नगराउनुहोस्। यो बिपीकै शब्द हुन्।

बारम्बार भनिन्छ, उत्पादन बिना वितरण हुँदैन। एकदम सही कुरा हो। बिपीमा पनि भेटिन्छ, उत्पादन बिना वितरण हुँदैन। तर केको उत्पादन? अन्न, दूध, फलफूल, कपडामा परनिर्भर र गाउँमा श्रमिक बेरोजगार। बिप्रेषणका पैसा खाएर हामी बाँचिरहेका छौं। आर्थिक नीतिको वैकल्पिक बाटो बिपी कोइरालाको रचनामा छन्। दुर्भाग्यवश लामो समयसम्म हाम्रो पार्टीको शासन भएता पनि हामीले बिपीका विचारलाई समुचित स्थान दिन सकेनौं। समय पनि त्यस्तै थियो। भूमण्डीकरणको बाढीमा, सोभियत संघको विघटनको भोलिपल्ट कोही पनि सायद बजारवादको बाटोबाट हट्न सक्दैनथ्यो। मनमोहन अधिकारीको सरकार पनि हटेन। गिरिजाको सरकार पनि हटेन। तर अहिले आएर हामीले ४० वर्षमा देख्दैछौं, तथाकथित बृद्धिदरका नाममा हामी कता पुग्दैछौं।

त्यसैले आज बिपीको अन्य महानतलाई पूरा गर्दै म विनम्रतापूर्वक भन्न चाहन्छु, बिपी कोइरालाले देखाउनुभएको वैकल्पिक बाटोतर्फ यस सरकारले सोचोस्। मुलुकमा सर्वप्रथम रोजगार र सुशासन कायम गरोस् र मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर, सिगापुर र स्विटजरल्याण्डको सपना देखाएर होइन, नेपाललाई नेपाल बनाउने संकल्पमा लैजाओस्। त्यही आशाले पञ्चायतकालको लामो परम्परा, बीचका अवधिका अलमलका विरुद्धमा वर्तमान सरकारले मताधिकार पाएको छ। आज बिपीलाई सम्झँदै म चाहन्छु, यस संसदले पनि उहाँलाई सम्मान गरोस्। बिपी कुनै दलको नेता होइन। सिंगो मुलुकको नेता हो। सम्मान गर्ने क्रममा हामीले बिपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं। बिपीमात्रै होइन, मनमोहनको गरौं, पुष्पलालको गरौं। र, नेपाललाई साँच्चै नै तेस्रो बाटो देखाऔं। यो पुँजीवादको बाटो पनि चल्दैन। पुँजीवादको अनुकरण गरेर हिँडेका साम्यवादको बाटो चल्दैन। सोभियत रुस, चीन, अमेरिका र भारतको विकासको रङमङमा हामी नअलमिलौ। बाटो लामो छ। तर जस्तै लामो बाटो पनि पहिलो डेगबाट हिँडिन्छ।(मंगलबारको प्रतिनिधिसभाको विषय समयमा बोल्दै गिरिले राखेका धारणको सम्पादित अंश)