अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा स्थानीय सरकारका गतिबिधि निगरानीमा

प्रकाशित मिति:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आर्थिक वर्ष २०७४÷७५ को अवधिमा ४ सय ७२ वटा उजुरी फछ्र्यौट गरेको छ । कुल ५ सय ५७ वटामध्ये ३ सय ८५ वटा उजुरी भने बाँकी रहेका छन् ।कार्यालयले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलमा यस्तो जानकारी दिइएको हो । कार्यालयका प्रमुख (सह–सचिव) रविलाल पन्थले गत आर्थिक वर्षको प्रगतिविवरण प्रस्तुत गर्दै अख्तियारप्रतिको जनविश्वास पनि बढिरहेको उल्लेख गर्नुभयो । नयाँ आर्थिक वर्ष २०७५÷७६ को पहिलो महिना साउनमा मात्र १ सय ५१ वटा नयाँ उजुरी दर्ता भएको जानकारी दिनुभयो ।पछिल्लो समय स्थानीय तहमा पनि भ्रष्टाचार भएका उजुरीहरु आउन थालेको पन्थले बताउनुभयो ।
उजुरीको संख्या बढ्नुले अख्तियारको विश्वश्नीयता भने बढेको उहाँको धारणा थियो । स्थानीय तहमा हुने भ्रष्टाचारका घटना पछिल्ला वर्षमा बढ्न सक्ने संकेत देखिएको भन्दै पन्थले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारजगतको पनि सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो ।आर्थिक वर्ष २०७४÷७५ को अवधिमा ६ लाख घुससहित ५ जना ब्यक्ति रंगेहात पक्राउ परेको, ५ वटा मुद्दाबाट ६ लाख रपैयाँ बिगो तथा ४ करोड ८ लाख २९ हजार ५ सय ६३ रुपैयाँ असुलउपर गरिएको पन्थले जानकारी दिनुभयो ।हाल १० वटा जिल्लामा काम गर्दै आएको आयोगको बुटवल कार्यालय अन्तरगत नेपालगञ्जमा भने सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयले बाँके बर्दिया र दाङ जिल्ला हेर्ने गर्छ । बुटवल कार्यालयले पूर्वी नवलपरासीसहित प्रदेश नं. ५ का बाँकी सबै जिल्ला हेर्ने गरेको छ ।पत्रकार भेटघाट कार्यक्रममा शाखा अधिकृत सुरेश भूसाल, लेखा अधिकृत रमेशप्रसाद नेपाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी लागयतले बोल्दै भ्रष्टाचार निवारणमा संस्थागत सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।