नेकपाको सचिवालय बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बुधबार(आज) दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि ओली सिंगापुरमा रहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक आह्वान गरेका थिए । नेकपा एकीकरणपछि प्रचण्डको अध्यक्षतामा पहिलो बैठक बसेको थियो । उक्त बैठकले केन्द्रीय सदस्यमा केही थपसहितको निर्णय गरेको थियो भने अन्तरपार्टी निर्देशिकासमेत जारी गरेको थियो । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित पार्टी एकताका बाँकी विषयमा छलफल हुने जनाइएको छ ।