विराटनगरमा तत्काल अमलेखगञ्जबाट इन्धन आपूर्ति नहुने

प्रकाशित मिति:

विराटनगर – बाराको अमलेखगञ्जबाटै विराटनगरसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन समस्या देखिएको छ । अन्तरदेशीय पाइपलाइन मार्फत भारतबाट नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन आउन थाले पनि तत्काल प्रदेश १ देखि ५ सम्मको माग पूरा गर्न असम्भव देखिएको हो । पाइपलाइनमार्फत इन्धन आयात हुँदा पूर्वमा प्रदेश १ को विराटनगर र पश्चिममा प्रदेश ५ को भैरहवासम्मको आपूर्ति अमलेखगञ्जबाटै गर्ने योजना नेपाल आयाल निगमको छ । तर दैनिक चार हजार किलो लिटर मात्र इन्धन पाइपलाइनबाट आउने भएकाले प्रदेश १ देखि प्रदेश ५ सम्मको माग अनुसार आपूर्ति व्यवस्था मिलाउन केही समय पर्खनु पर्ने नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले जानकारी दिनुभयो ।

‘अमलेखगञ्जबाटै विराटनगरसम्म आपूर्ति गर्ने निगमको योजना हो तर त्यसका लागि केही समय पर्खनुपर्छ,’ प्रमुख साहले भन्नुभयो, ‘कति इन्धन आउँछ र कति आपूर्ति गर्न सकिन्छ भन्ने व्यवहारिक अध्ययन पछि मात्र विराटनगरका लागि आपूर्ति गर्ने विषय छलफलमा आउला ।’ कार्यालयका निमित्त प्रमुख उपेन्द्रकुमार नेपालले काठमाण्डौ र जनकपुरसम्म भने अमलेखगञ्जबाटै आपूर्ति हुने जनकपुरदेखि काठमाण्डौसम्मको आपूर्तिबाट उभ्रिएको अवस्थामा मात्र विराटनगर र भैरहवाका लागि पेट्रोलियम आपूर्ति हुनसक्ने उहाँको भनाई छ ।

साधारण अवस्थामा नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट दैनिक सरदर १२ सय किलोलिटर डिजल र सात सय किलोलिटर पेट्रोल गरी करिव दुई हजार किलोलिटर पेट्रोलियम पदार्थ वितरण हुने गरेको छ । जुन पाइपलाइन मार्फत भारतबाट आउने कुल क्षमताको करिव आधा परिमाण हो । निगमको विराटनगर स्थित प्रादेशिक कार्यालयबाट कोशी अञ्चलका छ जिल्ला, २ नम्वर प्रदेशको सिराहा र सप्तरी तथा सगरमाथा अञ्चलका उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ गरी १२ जिल्लामा इन्धन आपूर्ति हुने गरेको छ ।

विराटनगरमा भारतको बरौनी डिपोबाट इन्धन आयात हुन्छ । बरौनीबाट १ सय ५० बढी ट्यांकरले विराटनगरमा नियमित रुपमा इन्धन ढुवानी गर्दै आएका छन् । करिव तीनसय मध्ये बाँकी ट्यांकर भने आन्तरिक ढुवानीमा प्रयोग हुने गरेको छ । मेची अञ्चलका चार जिल्लामा झापाको चारआलीबाट पेट्रोलियम पदार्थ वितरण हुने गरेको छ । चारआलीमा भातको सिलिगुढीबाट इन्धन ल्याउने गरिएको छ । झापाको चारआलीमा ५२ वटा ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन् । भारतको सिलिगुढीबाट चारआलीसम्म अन्तरदेशीय पाइपलाइन विस्तार गर्ने योजना नेपाल आयल निगमको छ । तर त्यसको विस्तृत अध्ययन भने भइसकेको छैन । अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइन विस्तार गर्न डिपिआर तयार भइसकेको छ ।