ताराखोलामा मनाईयो परम्परागत सिस्नो खोस्ने भदौरे पर्व

प्रकाशित मिति:

कौरव खत्री – बागलुङ/ ताराखोला गाउॅपालिकाको पहिचान, संस्कृति जोगाउॅदै प्रवर्द्वनको अभियान भन्ने मुल नाराका साथ सहित गत भदौ २१ गतेदेखि शुरू भएको ताराखोलामा मगर समुदायले सिस्नो खोस्ने भदौरे पर्व धुमधामका साथ मनाएर मगलवार समापन गरेका छन । आफना दिवंगत पितृहरु तथा प्रकृतिको सम्मानार्थ परम्परागत सिस्नो खोस्ने पर्व गरिदै आएको ताराखोला ५ निवासी दुतमान घर्तीले जानकारी दिनुभयो ।

भदौ शुक्ल पक्षको अवसरमा आयोजना गरिने पर्वमा पहिलो दिन बुढापाका जम्मा भएर बाटो सरसफाई तथा चार किल्ला सिमानमा वाचा गर्ने गरिन्छ त्यस्तै दोस्रो दिन प्रचलन युवा युवतीहरु जम्मा भएर बाटो सरसफाई गर्ने, तेस्रो दिन मगर समुदायको हेम्थो ९ मुल घर ० मा पितृहरु, देव देवता, सिमे भुमेको नाममा अन्नपात चढाउने र सबैको सु स्वास्थ्य, दीर्घायुको कामना गर्दै रातभर पुजा अर्चना गरिनुका साथै यानीमाया गीत गाउने ढ्याङराहरु र झ्याली बजाएर रमाईलो गर्ने र रॉगोको बलि दिने परम्परा रहेको छ ।

पर्वको अन्तिम बिहानै देखि मुल घर नजिक रहेको पाटामा विधिवत पुजा गर्ने, सुॅगुरको बलि दिने सॅगै सामुहिक रुपमा मन्त्र जप्दै ढ्याङराहरु र झ्याली बजाईने स्थानिय ससु रोकाले जानकारी दिनुभयो । त्यस पश्चात सुॅगुरको सपेटो निकालेर सिस्नोमा बॉध्ने गरिन्छ अन्तिममा बुढापाकाहरु र अविवाहित युवाहरुले ढ्याङरा र झ्याली बजाउदै उक्त सपेटो सहितको सिस्नो सॅगै परिक्रमा गर्ने प्रचलन रहेको छ । युवाहरुले बोकेको उक्त सिस्नो युवाहरु र युवतीहरु बिच ५ पटक सम्म एक आपसमा सामुहिक रुपमा घण्टौ समय सम्म खोस्ने गरिन्छ । सपेटो सहितको सिस्नोलाई युवाहरुले जोगाउने र युवतीले खोस्ने गर्दछन । जिति सकेपछि त्यिनै युवा युवतीहरु मिलेर सामुहिक रुपमा त्यसलाई खाने गर्दछन । सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवा युवतीहरु मात्र सहभागी हुन पाउदछन । पर्वमा मगर समुदाय सॅगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुने गर्दछ । सिस्नो खोस्ने भदौरे पर्व २ वर्षको अन्तरमा गर्ने गरिएको छ ।