अमरेशकुमार सिंह भन्छन – ‘भारतका विदेश मन्त्री भेट्न प्रोटोकल नमिल्ने चीनसँग मिल्ने’?

प्रकाशित मिति:

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले दुई छिमेकी राष्ट्रका विदेश मन्त्रीसँगको नेपाल भ्रमणका क्रममा नेताहरूले गरेको भिन्न व्यवहारबारे प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नलिई प्रोटोकल नमिल्ने भन्दै भारतीय विदेश मन्त्रीलाई होटलमा गएर भेट नगर्ने अध्यक्षले चिनियाँ विदेश मन्त्रीलाई होटलमै गएर भेटेको बताए।

‘दुई छिमेकीलाई समान व्यवहार गरिएन भने हामी सिकार हुन्छौं। एउटा परराष्ट्र मन्त्रीलाई लिन परराष्ट्र सचिव जाने, अर्को देशको परराष्ट्र मन्त्री जाँदा मन्त्री जाने हाम्रो परराष्ट्र नीति के हो?,’ उनले भने, ‘एउटा देशको विदेश मन्त्रीसँग सोफामा बसेर भेटघाट अर्कोसँग झण्डा नै राखेर सँगसँगै बसेर भेटघाट? यो मिल्छ?’

एउटा देशको विदेश मन्त्रीलाई प्रोटोकलको कुरा उठाएर होटलमा नभेट्ने तर केही दिनपछि अर्को देशका विदेश मन्त्रीलाई होटलमै गएर भेटिएको पनि उनले बताए। साथै, पेट्रोलियम पाइपलाइन उद्घाटनका बेलामा पनि केही दिनअघि भारतीय प्रधानमन्त्रीले राजदूतलाई सँगै राखेको तर नेपालमा भने पछाडि राखिएकोमा समानता के हो? भनेर सिंहले प्रश्न गरे।