आन्द्रा क्यान्सर पीडित खड्काको लागि १२ लाख संकलन

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
28 Shares


पर्वत- पर्वतका पत्रकार रामकृष्ण लामिछानेले चलाएको अभियानबाट आन्द्राको क्यान्सरको उपचार गराइरहेका पर्वतको कुस्मा नगरपालिकाका ३१ वर्षीय मिनहादुर परियार खड्का को लागि झन्डै १२ लाख रुपैयाँ संकलन भएको छ ।लामो समयसम्म काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार गराउँदा निको नभएपछि परियारलाई भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लगेको थियो । उनका उपचारका लागि झन्डै ५५ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । उनको उपचारमा सघाउन आर्थिक सङ्कलन अभियान चलाइएको छ । पत्रकार रामकृष्ण लामिछानेको पहलमा सुरु गरिएको अभियानमा स्वदेश र विदेशमा रहेका नेपाली तथा गैर नेपालीहरूबाट सङ्कलन भएको ११ लाख ७४ हजार रुपैयाँ परियारको परिवारलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेतृ राधाकुमारी कुँवर क्षेत्री, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष छविलाल तिवारी र पत्रकार लामिछानेले संयुक्त रूपमा चेक मार्पत हस्तान्तरण गरेका हुन् ।घरको आर्थिक अवस्था कमजोर रहेको र खड्काको उपचारमा ठूलो रकम खर्च भएपछि उनको उपचारमा नै समस्या उत्पन्न भएको खड्काकी श्रीमती हिना परियारले बताइन् । एउटै किमो चढाउँदा नेपाली ८ लाख रुपैयाँ सम्म खर्च हुने गरेको र अझै पनि लामो उपचार आवश्यक रहेको उनको भनाई छ । सुरु सुरुमा नेपाली ४० हजार रुपैयाँ जतिको किमो चढाइएको र पछिल्लो पटक त एउटैको मूल्य नेपाली आठ लाख रुपैयाँसम्म परेको छ उनले बताइन् ।

घरको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको बेलामा पत्रकार लामिछानेले गर्नुभएको पहलले ठूलो राहत मिलेको उनको भनाई थियो ।रकम हस्तान्त्रण गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले एउटा ब्यक्तिलाई पर्दा अर्को ब्यक्तिलाई सघाउनु नेपाली समाजको विशेषता रहेको बताउँदै खड्काको जीवनरक्षाका लागि सघाउन सबैलाई अपिल गरे। जोशीले खड्काको सुस्वास्थ्यको कामना गर्दै आवश्यक सहयोगका लागि आफु  सदैव तत्पर रहेको बताए। यस्तै, नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले बिस्तारामा रहेका खड्काको अवस्थाले चिन्तित बनाएको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना गरिन् ।आत्मबल बलियो बनाउँदा शरीरको प्रतिरक्षा शक्ति बढ्ने भएकोले पनि उनले क्यान्सर पीडित खड्कालाई  आफैमा विश्वास गर्न अनुरोध गरिन्।यता, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पत्रकार लामिछानेले चलाएको अभियान उदाहरणीय काम भएको भन्दै धन्यवाद ब्यक्त गरेका छन्। परोपकारी पत्रकारिताले कोही कसैको जीवन रक्षामा सघाउन सक्ने हो भने त्यो नै धर्म हुने भएकोले यो अभियानमा सघाउन उनले सबैमा अनुरोध गरेका छन् ।मङ्गलवार नै खड्गाको परिवारलाई साउदी अरेबियामा कार्यरत रामबहादुर खवासको नेतृत्वमा सङ्कलन गरिएको ८५ हजार ६ सय ५ रुपैयाँ पनि हस्तान्तरण गरिएको छ । कुस्मा नगरपालिका २ खुर्कोट घर भई साउदीमा रहेका खवासले अन्य नेपालीहरूसँग सहयोग सङ्कलन गरेर पठाएका हुन् । उक्त रकम श्रीमती गीता खवास मार्पत मीनबहादुरको परिवारलाई प्रदान गरिएको हो । खड्काको उपचारमा सघाउन हालसम्म झन्डै १८ लाख रुपैयाँ सहयोग सङ्कलन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया