गुल्मीका ग्रामीण सडकको भाडादरमा समायोजन

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
39 Shares


गुल्मी-गुल्मीमा तीन वर्षपछि जिल्लाभित्रका ग्रामीण सडकहरुको भाडादर समायोजन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायीहरु र सरोवारवाला सङ्घ संस्थाहरुको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।यातायात व्यवासायी समितिहरुले यही भदौ ५ गते समायोजन गर्ने भनिएको नयाँ भाडादर अव्यावहारिक भएको गुनासो गरेपछि प्रशासनले सरोकारवालाहरु बीच पुनः बैठक बोलाइ छलफल गरेपछि व्यवसायीहरुले नयाँ भाडादर समायोजन कायम गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए ।नयाँ समायोजन गरिएको भाडादरअनुसार पक्की सडकहरुमा जीप, हायस र डिलक्स बसलाई अन्य सवारी साधनहरुले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने छन् ।गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष रूपकलाल श्रेष्ठले यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबीच भाडादर सामायोजन गर्ने कुरामा सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयनका लागि व्यवसायी समितिका पदाधिकारीहरुसँग पनि छलफल गरिने बताउनुभयो ।दुई पक्षसहित सरोकारवाला सङ्घ संस्थाहरुको रोहवरमा समायोजन गरिएको नयाँ भाडादरअनुसार जीप, हायस र डिलक्स बसको हकमा पक्की सडकमा प्रतिकिलोमिटर तीन रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

त्यसैगरी ग्रामीण कच्ची सडकहरुमा जीप र हायसको प्रतिकिलोमिटर सात रुपैयाँ २५ पैसा कायम गरिएको छ । ग्राभेल सडकहरुमा प्रतिकिलोमिटर ६ रुपैयाँ कायम गरिएको छ ।बस र मिनिबसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाँच रुपैयाँ र पक्की सडकमा तीन रुपैयाँ दुई पैसा कायम गरिएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । तीन वर्षअघि विसं २०७३ मा कायम गरिएको भाडादरअनुसार जीपकोे हकमा नौ रुपैयाँ र बसको हकमा सात रुपैयाँ २५ पैसा कायम गरिएको थियो ।जिल्लामा सडक संरचानाहरु राम्रो बन्दै गएको अवस्थामा पनि लामो समयसम्म भाडादर समायोजन नहुँदा यहाँका मानिसहरुले सवारी साधनहरुमा यात्रा गर्दा चर्को भाडा तिर्न बाध्य बन्दै आएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले नयाँ भाडादर समायोजन गर्न गरेको पहल निकै सराहनीय भएको र यसबाट यात्रुहरु निकै खुसी बनेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।गुल्मी जिल्लामा अहिले १०८ ग्रामीण सडकहरुमा नियमितरूपमा यातायात सेवा सञ्चालन हुँदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया