करहिया स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा

प्रकाशित मिति:

तिलोत्तमा, भदौ ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८, चार नंबर
स्थित करहिया स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको
छ । स्वास्थ्य चौकी स्थापनाको झण्डै २० वर्षपछि सञ्चालन गरिएको
प्रयोगशालाको बुधबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन
गर्नुभयो । त्यसअवसरमा नगर प्रमुख घिमिरेले प्रयोगशालाको दिगो व्यवस्थापनका
लागि जनशक्ति एवं भैतिक पूर्वाधार निर्माणमा नगरपालिकाले आगामी दिनमा थप
सहयोग उपलब्ध गराउने बताउनुभयो ।
सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वसनियता बढाउँदै रोगको समयमैं पहिचान गर्न
प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै नगर प्रमुख घिमिरेले
प्रयोगशालाबाट लाभ लिन सबैलाई समेत आग्रह गर्नुभयो । यस्तै वडा नं. ८ का
वडाध्यक्ष कृष्ण पौडेलले सबैको सहयोगबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको
उल्लेख गर्दै यसले स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउने उल्लेख गर्नुभयो ।
स्वस्थ्य चौकी ईञ्चार्ज पिताम्बर पाठकले स्वास्थ्य चौकी स्तरीय प्रयोगशालामा
औलो एवं क्षयरोगको पूर्ण निःशुल्क तथा अन्य परीक्षणको न्यून शुल्कमा
परीक्षण सेवा उपलब्ध रहेको जानकारी दिनुभयो ।
प्रयोगशाला सञ्चालनसँगै स्वास्थ्य चौकीमा आउने बिरामीको संख्या बढ्ने
बताउँदै पाठकले सर्ने र नसर्ने रोगको भित्रि कारण पत्ता लगाएर उपचार गर्न अब
सहज हुने उल्लेख गर्नुभयो । प्रयोगशालामा उद्घाटन कार्यक्रममा तिलोत्तमा
नगरकार्यपालिका तथा नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दल एवं संघ–संस्थाका
प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविकालगायत स्थानीयको
सहभागिता रहेको थियो ।