बिदेशमा रहेका अचेत बिरामीलाई देश फर्काइने

प्रकाशित मिति:

काठमाडौं/ सरकारले विदेशस्थित विभिन्‍न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई स्वदेश ल्याएर उपचार गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलेको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताए।

उनले भने, ‘यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भएको छ। सरकार यस विषयमा अन्त्यन्त गम्भीर छ।”

वैदेशिक रोजगारीमा गएका हजारौँले जीवन गुमाउनु पर्नाको कारण अध्ययन गर्न जरुरी भएको

बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सको टोली गठन गरेर नेपाली कामदारको मृत्युको कारण अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘सामान्य अवस्थामा सुतेका श्रमिकको अर्को दिन मृत्यु हुन्छ । यसको कारण हामीले खोज्नुपर्छ । अबका दिनमा यस्ता घटना हुन नदिन श्रमिकहरुलाई सचेत गराउन हामी प्रयत्नशील छौँ।”

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री विष्टले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याएर अस्पतालमा राख्न पहल गरे। वैदेशिक रोजगारीका क्रममा विभिन्‍न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन्। कमाई गर्ने व्यक्ति नै कोमामा पुगेपछि आश्रित परिवार आर्थिक तथा मानसिक रुपमा विक्षिप्त हुँदै आएका छन्। (रासस)