पञ्चेश्वरका किसानलाई फलफूलमा आत्मनिर्भर बनाइँदै

प्रकाशित मिति:

बैतडी – किसानलाई फलफूल आत्मनिर्भर बनाउन बैतडीको पञ्चेश्वर गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । ठाउँअनुसार फलफूलको पकेट क्षेत्रका रुपमा विकास गरेर फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं ३ लाई अनारको पकेट क्षेत्र मानेर सो क्षेत्रमा तीन हजार अनारका बिरुवा वितरण गरिएको उपाध्यक्ष बीना भट्टले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाको वडा नं १ र २ लाई केरा पकेट क्षेत्र बनाएर पाँच हजार केराका बोट वितरण गरिएका छन् भने वडा नं ४ लाई आँप र केराको पकेट क्षेत्र बनाएर पाँच हजार बोटबिरुवा वितरण गरेका छन् ।

गाउँपालिकाभरि गत आर्थिक वर्षमा २० हजार अनारका बोट, १० हजार केरा र आठ हजार आँपका बोटबिरुवा वितरण गरिएका गाउँपालिका उपाध्यक्ष बीना भट्टको भनाइ छ । पाँच सय बढी बिरुवा लगाएर फलफूल खेतीमा लागेका किसानलाई गाउँपालिकाले एक लाख अनुदानसमेत दिने तयारी गाउँपालिकाले गरेको छ । किसानलाई अनुदान दिन गाउँपालिकाले अनुगमन गर्ने र त्यसपछि मात्रै अनुदान दिइने बताइएको छ । – रासस

थप समाचार