१५ वर्ष नेपाल बसे विदेशी ज्वाइँलाई पनि नागरिकता

प्रकाशित मिति:

काठमाडौं – सरकारले १५ वर्षसम्म नेपालमा बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिने प्रस्ताव गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धी विधेयकमा छलफल भइरहेका बेला गृहमन्त्रालयले यस्तो प्रस्ताव गरेको हो। गृहमन्त्रालयले तयार पारेर पेश गरिएको प्रस्तावमा नेपाली महिला नागरिकसँग बिहे गर्ने विदेशी नागरिक कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरे ज्वाइँलाई पनि नागरिकता दिन सकिने उल्लेख छ।

अरु मुलुकको नागरिकता वा त्यो सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने पनि प्रस्तावमा लेखिएको छ। समितिको छलफलमा भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले भारतसँगको खुला सीमानाले दोहोरो नागरिकताको समस्या आएको जवाफ दिएका थिए।

देशको विकासलगायतमा यसले समस्या पारेकाले समाधानका लागि नागरिकता विधेयक ल्याइएको उनको भनाई थियो। समिति सदस्यहरूले भारतमा ७ वर्ष बसेपछि नागरिकता पाउने व्यवस्था भए पनि नेपालमा आउनेबित्तिकै दिने असमान व्यवस्था राखिएको भन्दै असन्तुष्टि जनाएका थिए। गृहमन्त्री थापाले समान बनाउने हो भने पनि समितिले निर्णय गर्न सक्ने बताएका थिए।