न्यूयोर्क — अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाउँदै उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्वसहयोगी माइकल कोहेनले अदालतमा बयान दिएका छन् । अमेरिकाकै दुई सहरमा २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरेको छन् । ट्रम्पका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ । कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालतमा जानकारी गराएका छन् । कोहेनले राष्ट्रपति ट्रम्पमाथि औंला ठड्याएका छन् ।राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाइ छ । ‘यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो न्यायाधीश समक्ष कोहेनले भने । खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए ।यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ । ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले, ‘राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन्’ भनेका छन् ।कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ ।उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ । यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट असल मानिस रहेको प्रतिक्रिया दिएका छन् ।