डडेलधुरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको हो ।
जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुतला दहन गरिएको हो । नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा ओली र प्रचण्डको पुतला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।
उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ । उनले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरू नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिए । उनले प्रजातन्त्रविरोधी क्रियाकलापहरू रोक्न सरकारलाई आग्रह गरे । बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरूको समूहले आक्रमण गरेको थियो ।