बुद्ध एयरको स्प्रष्टीकरण : ज्ञानेन्द्र शाही र योगेश भट्टराई दुवैले झुट बोले ,भएको यसो हो

प्रकाशित मिति:

काठमाडौँ । बुद्ध एयरले शनिबार नेपालगन्जबाट काठमाडौँ एडानमा भएको ढिलाइबारे प्रष्टीकरण दिएको छ । उसले दुवै पक्षबाट आएको ढिलाइ भएको समयको दाबी सत्य नभएको जनाएको छ। बुद्ध एयरका प्रवक्ता खगेन्द्रबहादुर बस्नेतले विमानले उडान भर्दासम्म ३२ मिनेटको समय लागेको जानकारी गराएका छन्।  मन्त्रीज्यू विमानस्थलतर्फ आइरहनुभएकाले पाँच मिनेटभित्रै आइपुग्ने जानकारी पाएपछि केही समय विमान रोकेको हो,’ उनले भने, ‘जहाज ग्राउन्डमा हुँदा पाँच–दस मिनेट आन्तरिक तयारीमा लाग्ने भए पनि स्वभावैले यात्रुलाई आफ्नो सिटमा बस्न लगाएको तर मन्त्री भनेकै समयमा आइनपुग्दा समस्या आएको हो।’मन्त्रीसँग भएको टिममध्येबाट फोन गर्नेले आफूहरु विमानस्थलनजिकैको नेपालगन्जको धम्बोजीमा आइपुगेको जानकारी गराएका कारण उक्त स्थान नजिकै हो भन्ने आधारमा अन्य यात्रुलाई पनि त्यही जानकारी गराएको उनको भनाइ छ। तर मन्त्री भनेकै समयमा नआएपछि केही यात्रु विमानबाट बाहिर निस्किएर मन्त्रीविरुद्ध तथा विमानका कर्मचारीसँग आक्रोशित भएको उनले बताए।

‘मन्त्रीज्यूलाई उहाँका तर्फबाट जानकारी गराएको समय थाहा नभएको पनि हुन सक्छ पाँच मिनेटमा विमानस्थलमा छिर्न लाग्दैछौं भन्ने जानकारी आएको थियो तर २० मिनेटसम्म मन्त्री नआएपछि विरोध भएको हो,’ उनले भने। मन्त्री आउँदैछन् भन्ने जानकारी पाएका यात्रुले विमानभित्र २० मिनेटसम्म कुरे पनि मन्त्री नआएपछि केही यात्रु बाहिरिएको पनि उनले जनाए। ‘विमानको ढोका बन्द भइसकेको अवस्थामा पुनः ढोका खोलेर मन्त्रीलाई कुरेका होइनौं’, उनले भने ‘त्यो दिनको अन्तिम उडान भएका कारण पनि पाँच मिनेटमा मन्त्री आउने भएपछि किन छोडेर जानु भनेर कुरेका हौं, मन्त्रीको डरले होइन,’ उनको भनाइ छ। राजनीतिक निराशाका कारण उक्त परिस्थिति सिर्जना भएको जनाउँदै उनले ‘मन्त्रीज्यू ढिला हुने कुरा पहिलै नै भएको भए यात्रुलाई प्राविधिक कारण भन्दै विमानभित्र बसाउने नै थिएनौं तर यात्रुलाई मन्त्री आउने जानकारी पनि भएको र २० मिनेटसम्म कुर्दा पनि नआएपछि आक्रोशित भई विमानबाट बाहिरिएका हुन्,’ उनले भने। यो खबर आजको नागरिक दैनिकले विस्तृत रुपमा लेखेको छ ।