राष्ट्रिय युवा संघले गर्‍यो ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध !

प्रकाशित मिति:

बुटवल – आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनहरूले कास्की प्रवेशमा निषेध गरेको छ । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर आइतबार नेकपाको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ नेपालले कास्की र वाइ. सि. एल. कास्कीले एक प्रेस विज्ञप्ति निकाल्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको छ । तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ । शाहीले शनिबार नेपालगञ्बाट काठमाडौं आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडानमा एक घण्टा ढिलाई भएको भन्दै शाही लगायतका समुहले गाली गलौज गरेका थिए । सोही बिषयमा मन्त्री भट्टराईले आफ्नो कारणले जहाज १५ मिनेट मात्रै ढिलो भएको स्पष्टीकरणमा भनेका छन् । साथै उनले माफी पनि मागिसकेका छन् । शाहीले मन्त्री भट्टराईले दिएको स्पष्टिकरणको खण्डन गर्न आइतबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप समेत भएको थियो ।