पार्टीका युवालाई प्रचण्डको अपिल, ‘गणतन्त्रविरुद्ध भ्रम छर्ने अराजकहरुको प्रतिवाद गर्नू’

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्रको कलिलो प्रणालीमाथि आक्रमण गर्ने अराजक तत्वको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरेका छन्। पोष्‍टबहादुर बोगटीको पाँचौँ स्मृतिमा पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले अराजक तत्वले जनतामा भ्रम सिर्जना गरिरहेको भन्दै सतर्क रहन र प्रतिवाद गर्न अपिल गरेका हुन्।

‘सात दशकको प्रयासबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्र कलिलो नै छ। विरोधीहरु कलिलोमै निमोठ्‍न सकिन्छ कि भनेर छट्पटाएको आजभोलि हामी देख्न सक्छौँ। भ्रम, अराजकता र आतंकको प्रयास भएको पनि हामी देख्छौँ,’ युवा तथा विद्यार्थीलाई निर्देशन दिँदै अध्यक्ष प्रचण्डले भने, ‘यो परिवर्तनलाई रक्षा र सुदृढ गरी समाजवादतिर अघि बढ्ने संकल्प आवश्यक छ। तमाम युवा, विद्यार्थीलाई विशेष अपिल गर्न चाहन्छु। केही अराजक तत्वले जनतामा भ्रम सिर्जना गर्ने हत्केलाले सूर्य छेक्न खोज्ने जस्तो दुस्साहस गर्नेसँग सतर्क रहन र प्रतिवाद गर्न म विशेष अपिल गर्न चाहन्छु।’

संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो प्रणालीलाई अन्त्य गर्न विरोधीहरु छटपटाएको पनि प्रचण्डको भनाइ छ। प्रचण्डले वैचारिक निष्ठा र चरित्रलाई उच्च बनाउँदै पार्टी निर्माण लाग्न पनि कार्यकर्तालाई आग्रह गरे। प्रचण्डले समाजवाद निर्माणको बाटो चुनौतीपूर्ण रहेको पनि बताए। उनले भने ‘हामी पुँजीवाद र साम्राज्यवादद्वारा घेरिएका वा विभिन्न खालका विचलनको परिस्थितिबाट घेरिएको अवस्थाबाट समाजवादको परिकल्पना गरिरहेका छौँ।’