मिश्र प्रधानन्याधीशमा सिफारिस

प्रकाशित मिति:

काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ।

बिहीबार बसेको परिषद्को बैठले मिश्रलाई सिफारिस गरेको हो।

यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि नयाँ सिफारिसका लागि आज बैठक बसेको हो।

अघिल्लो साता परिषद्को बैठक सरकारले बोलाइए पनि स्थगित भएको थियो। विपक्षी दलको नेता शेरबहादुर देउवा विदेश उपचारका लागि जाँदा संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो।

मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन्।

जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै उनी बिदामा बस्दै आएका थिए। त्यसपछि मिश्रले नै कायममुकायम रुपमा काम गर्दै आएका थिए।

यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।