काठमाडौं–निजगढ द्रुतमार्गका पुल र सुरुङको ठेक्का विदेशी कम्पनीलाई

प्रकाशित मिति:

काठमाडौं – निर्माणाधीन काठमाडौं–निजगढ द्रूतमार्गमा बन्ने पुल र सुरुङ निर्माणको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् । यी पुल र सुरुङ ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने भएको छ । ‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्सांकनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने नेपाली सेनाले जनाएको छ । द्रूतमार्ग निर्माणको जिम्मा पाएको सेनाले स्वीकृत गरेपछि मात्रै ठेकेदार कम्पनीले काम सुरु गर्न सक्नेछ । पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइने गरी सेनाले काम अघि बढाएको छ । पुल बनाउन ६ वटा कम्पनी सूचीकृत भइसकेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । जसअनुसार पाँचवटा चिनियाँ र एउटा टर्किस कम्पनी सूचीकृत भएका छन् ।

तीन महिनाभित्रमा सुरुङमार्गका लागि पनि कम्पनीहरु छनोट गरिसक्ने सेनाको योजना छ । त्यसका लागि कम्पनीहरु सूचीकृत गर्ने प्रक्रिया चलिरहेको प्रवक्ता पाण्डेले बताए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार द्रूतमार्गमा ८७ वटा पुल र तीनवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइनेछ । यसअघि भदौ पहिलो साता मन्त्रिपरिषदले ती सुरुङको डिपिआर स्वीकृत गरेको थियो । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ । द्रूतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ ।