शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसँग भएको सम्झौता लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैया घोटला भएको भन्दै सो आदेशबारे चासो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गरे । सांसद चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुख लगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गाली गलौच गर्दै हिँड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।