तेल केन्द्रमा आक्रमणको प्रभाव नेपालमा १५ दिनपछि देखिने

३१ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं – विश्वकोे सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र साउदी अरबको अरामकोमा गत शनिवार भएको आक्रमणले विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । यसले नेपालमा पनि इन्धनको आपूर्ति र मूल्य प्रभावित हुने आशंकामा उपभोक्ता छन् ।आयल निगमले साउदीमा भएको आक्रमणको प्रभाव नेपालमा आइपुग्न कम्तिमा दुई साता लाग्ने जनाएको छ । निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय कारणले नेपालमा तत्काल इन्धनको मूल्य नबढ्ने बताए । निगमले हरेक १५ दिनमा भारतीय आयल निगमबाट इन्धनको औसत मूल्यसूची प्राप्त गर्छ । साउदी आक्रमणका अहिलेसम्म मूल्यसुची नबढेको पौडेलले जानकारी दिए ।मंगलबार प्राप्त नयाँ मूल्यसुची अनुसार कम्तीमा अबको पन्ध्र दिनसम्म आईओसीले पुरानै मूल्यमा तेल दिने निगमले जनाएको छ । पन्ध्र दिनपछि आउने नयाँ मूल्यसूचीमा बढेको मूल्य समावेश हुने र यसले निगमको व्ययभार बढ्ने निगमका प्रमुख कार्यकारी निर्देशक पौडेल बताउँछन् ।‘सेप्टेम्बर अन्तिम साता आउने नयाँ मूल्य सूचीपछि तेलको खुद्रा मूल्य बढाउन निगमलाई दबाब पर्न सक्छ,’ उनले भने ।साउदी अरबले जतिसक्दो छिटो आफ्नो प्रशोधन केन्द्र पूरानै अवस्थामा फर्काउन प्रयास गरेको र त्यो सम्भव भए इन्धनको मूल्यमा खासै प्रभाव नपर्ने निगमको विश्वास छ । तर, केही साता वा महिनौंसम्म उक्त केन्द्रले पूर्ण क्षमतामा तेल उत्पादन नथालेमा भने इन्धनको मूल्य बढ्न सक्ने निगमले जनाएको छ ।

आईओसीबाट प्राप्त हुने नयाँ मूल्यसूची दशैंको मुखैमा पर्ने र यस्तो बेला मूल्य बढाउँदा गलत सन्देश जाने भएकाले निगम घाटा खाएरै भए पनि मूल्यवृद्धि नगर्ने पक्षमा छ ।साउदी अरबको तेल प्रशोधन केन्द्रमा शनिवार राति ड्रोनमार्फत आतंकवादी हमला भएको थियो । आक्रमणअघि अरामकोले दैनिक ९७ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने गरेकोमा अहिले ५७ लाख ब्यारेलमा झरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । विश्वको सबैभन्दा ठूलो कम्पनीको उत्पादनमा झण्डै आधा कटौती भएपछि विश्वभर तेलको निर्यात घटेको छ भने मूल्य हृवात्तै बढेको छ ।आक्रमणपूर्व कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्य प्रति ब्यारल ६०।४६ सेन्ट थियो । आक्रमणको भोलिपल्ट आइतबार विश्व बजारमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेर डलर प्रति ब्यारल ७१।९५ पुग्यो । तर सोमबार ७ डलरले सस्तीएर ६५ डलरमा झर्‍यो भने मंगलबार यो समाचार तयार गर्दाको कारोबार समयसम्म मूल्य ६८।१२ डलर पुगेको छ ।नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक डलर बढ्दा निगमलाई दैनिक १५ करोड रुपैयाँले व्ययभार थपिन्छ । आइतबार ११।४९ डलरले बढेको कच्चा तेलको मूल्यले निगमलाई एक दिनमै एक अर्ब ७२ करोड ३५ लाख भन्दा धेरै नोक्सान पुर्‍याएको छ । यद्यपी नयाँ मूल्यसुची निगमले १५ दिनपछि पाउनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया