कारबाही प्रतिवद्धता नआएसम्म संसद चल्न नदिने कांग्रेसको निर्णय

प्रकाशित मिति:

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता नजनाए संसद चल्न नदिने भएको छ । संसद बैठक केहीबेरमा बस्नेछ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले आफूले दिएको जाहेरीअनुसार कारबाही गर्ने प्रतिवद्धता सरकारबाट आउनुपर्ने अडान अघि सारेको छ । राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले भने, ‘जुन जाहेरी दर्ता भएको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता आउनुपर्‍यो । आएन भने संसद चल्दैन ।’ कांग्रेस सोमबार नै संसद सञ्चालन गर्न सहमत भएको थियो । तर सत्तारुढ नेकपाका सांसदले आरोपित वडाध्यक्ष निर्दोष भएको भन्दै उनमाथि करबाही स्वीकार्य नहुने बताएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी लिएको छ । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन । कांग्रेसले संसद अवरुद्ध गरेपछि जाहेरी दर्ता भयो । तर सत्तारुढ नेकपाकै सांसदले वडाध्यक्षलाई कुनै हालतमा कारबाही हुन नदिने बताएपछि कां‌ग्रेसले संसद फेरि अवरुद्ध गरेको छ ।