राष्ट्रिय क्रिकेट टिममा कुशल र इशानको इन्ट्री

प्रकाशित मिति:

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिममा दुई नयाँ अनुहारले प्रवेश पाएको छ । सिंगापुर र ओमान टूरका लागि घोषित नेपाली टोलीमा बुटवल स्थित न्यु होराइजन माबीमा कक्षा १२ मा अध्ययनरत कुशल मल्ल इन्ट्री भएका हुन भने उनी सँगै इशान पाण्डे पनि इन्ट्री भएका छन । दुवै यू-१९ बाट आएका हुन् । यस्तै बुटवलकै सुशन भारी, आरिफ शेख र सन्दीप जोराले राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भएका छन् । कप्तान पारस खड्काले राम्रो खेल प्रदर्शन गर्नेहरुका लागि राष्ट्रिय टिमको ढोका सधैं खुला रहने बताए । उनले भने, ‘जसले राम्रो गर्छ, ऊ आउँछ । सबैले राम्रो गर्नु हुन्छ भन्ने आश छ ।’

दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी – पारस खड्काको कप्तानीमा रहेको टिमका उपकप्तानको जिम्मेवारी दीपेन्द्रलाई दिइएको छ । नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले भने व्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिएका थिए । टोलीमा सन्दीप लामिछाने, विनोद भण्डारी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र पवन शर्राफ छन् ।

यो टूरमा बसन्त रेग्मी र शरद भेषावकरलाई आराम दिइएको छ । नेपाल, सिंगापुर र जिम्बाब्वेबीचको त्रिदेशीय टी-२० सिरिज २७ सेप्टेम्बरबाट सिंगापुरमा हुनेछ । यो सिरिज ३ अक्टोबरमा सकिनेछ । ५ अक्टोबरबाट ओमानमा पाँच देशको सिरिज सुरु हुनेछ । ओमान क्रिकेट संघको आयोजनामा १० अक्टोबरसम्म हुने टी-२० सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डसँगै नेपाल, हङकङ र नेदरल्याण्ड सहभागी हुनेछन् । नेपालले १९ असोजमा हङकङसँग खेल्नेछ भने २० गते नेदरल्याण्ड्सँग, २२ गते आयरल्याण्डसँग र २३ गते ओमानसँग खेल्नेछ ।