संविधान दिवसको पुर्वसन्ध्यामा मुख्यमन्त्री देखि प्रहरी प्रमुखले उठाए सडकको फोहोर

प्रकाशित मिति:

बुटवल – शुक्रबार बिहानै बुटवलका सडकमा मुख्यमन्त्री शंकर पोख्रेल सामान्य कपडामा निस्किए, उनीसंगै प्रदेश सरकारका मन्त्रीहरु र कर्मचारीहरु पनि थिए, हातमा पन्जा लगाएर सडकमा फोहोर टिप्नेहरुमा सर्वसाधारण देखि उच्च पदस्थ कर्मचारी र सरकारका माननीय, मन्त्री र मुख्यमन्त्रीहरुले चौथो संविधान दिवसको पुर्वसन्ध्यामा डेङ्गुविरुद्द सचेतना फैलाउन सरसफाई अभियान चलाइएको हो । प्रदेश पाँचले ३ दिने विशेष कार्यक्रमका साथमा संविधान दिवस मनाउने तयारी गरेको छ । यसै अभियान अन्तर्गत हिजो प्रदेश पाँचका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरीएको छ । त्यस्तै प्रदेशको मुकाम बुटवलको मुख्य चोकहरुमा राष्ट्रिय झण्डा फहराईएको छ ।

तीन दिवसीय संविधान दिवस बिशेष कार्यक्रमको आज प्रदेश राजधानी रहेको बुटवल उपमहानगरपालिकाको व्यबस्थापनमा सरसफाई गएिको छ । डेंगु रोग बिरुद्ध सचेतना अभियानको रुपमा सामाजिक बिकास मन्त्रालयले अंगाडी बढाउने गरि सरसफाई कार्यक्रम गरिएको हो ।प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेशबिक्रम शाहको नेतृत्वमा जनपथ प्रहरीले बुटवलको मुख्य चोकको सरसफाई समेत गरेका छन । त्यस्तै प्रदेश सरकारले १०९ वटै स्थानीय तहहरुलाई पनि आफ्नो आफ्नो स्थानीय तहमा सरसफाई कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश सरकारले तय गरेका कार्यक्रम गर्न आह्वान गरेको थियो । सोही अनुसार स्थानीय तहहरुले पनि पालिकाका केन्द्रमा सरसफाई कार्यक्रम गरेका छन् ।  प्रदेश सरकारले संविधान दिवसलाई बिशेष महत्व दिँदै तीन दिन मनाउने निर्णय गरेको थियो ।

तीन दिन नै प्रदेशका सबै सरकारी कार्यालयहरुमा साँझ दीपावली गरिने छ । संविधान जारी भएको दिन असोज तीन गते शुक्रबार प्रदेश पाँचको राजधानी बुटवलमा बिशेष कार्यक्रम गरिने छ । बिहान बुटवलमा बिभिन्न जात जातीका कला संस्कृति झल्किने झाँकी सहितको रयाली प्रदर्शन गरिने र झाँकी सहितको र्याली लगत्तै बुटवल मण्डपमा आम सभा गर्ने सरकारको तयारी छ । त्यस्तै अन्तिमदिन असोज ४ गते रक्तदान, बृक्षारोपण कार्यक्रम तय गरिएको छ । प्रदेश ५ मा डेङ्गुको प्रकोप बढिरहेको बेला संविधान दिवसलाई त्यसैसग जोडेर सरसफाइ अभियान संचालन गर्दा सर्वसाधारणको समेत उच्च सहभागीता रहेको थियो ।