डेंगु रोग नियन्त्रणमा गण्डकी प्रदेशका मन्त्रीहरु सक्रिय

प्रकाशित मिति:

काठमाडौं – डेंगु रोगको संक्रमण बढेपछि गण्डकी प्रदेशका सबै मन्त्रीहरु सचेतना अभियानमा सक्रिय भएका छन्। गण्डकी प्रदेशका १० जिल्लाका हालसम्म १ एक हजार ९ सय ६४ जनालाई डेंगु संक्रमण भएको छ । यसमध्ये सबैभन्दा बढी कास्की जिल्लामा एक हजार ६ सय ७७ जना संक्रमित भएका छन्। गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले डेंगुको संक्रमणले जनजीवन प्रभावित भएपछि जनजागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिइन्। उनले भनिन्,‘डेंगु नियन्त्रणका लागि लामखुट्टे र तिनका लार्भा, प्युपा पनि नष्ट गर्नुपर्ने हुन्छ। त्यसका लागि घरघरमा पानी जम्नसक्ने भाडाकुँडा सफा गर्नुपर्छ।

वडावडाबाट यो डेंगुविरुद्व सचेतना सुरु गर्न लागेका छौं।’ मन्त्रीको नेतृत्वमा हरेक वडामा घर, सार्वजनिक स्थललगायतको सरसफाइ गर्ने। सचेतना फैलाउनेलगायतका क्रियाकलाप गरिने बताइएको छ। प्रदेश सरकारले हरेक मन्त्रीलाई कास्की पोखरा महानगरपालिकाका वडाहरुमा जिम्मेवारी दिइएको छ । हरेक मन्त्रीले जिम्मा पाएको वडामध्ये कसको वडा सफा भयो भनेर आपसमा पतिस्पर्धा समेत गराइने बताइएको छ। सोही अनुसार सामाजिक विकासमन्त्री नरदेवी पुनले वडा नम्वर १, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले वडा नम्बर ३, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले वडा नम्बर १७,

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वडा नम्बर २, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले वडा नम्बर ४ को जिम्मेवारी पाएका छन्। त्यसैगरि, प्रदेशमा कार्यरत संघसंस्था, नागरिक समाज, राजनीतिक दल लगायतलाई पनि डेंगु नियन्त्रणका लागि सहभागिता जनाउन अनुरोध गरेको छ।  सामाजिक विकासमन्त्री पुनले कास्कीस्थित लायन्स क्लवले १० वटा वडा सरसफाइएको जिम्मा लिने बताएको जनाकारी दिइन्। ‘आजदेखि हामीले आफ्नो वडामा गइ कसरी गर्ने भनेर कार्ययोजनाहरु बनाउँछौँ, घरघरबाट पहल नगरी डेंगु नियन्त्रण गर्न सकिदैँन।’ प्रदेशका मुख्यमन्त्री, आथिर्क मामिला तथा योजनामन्त्री र पोखरा महानगरपालिका प्रमुखले सो अभियानको अनुगमन गर्ने मन्त्री पुनले बताइन्।