धीरेन्द्र झा मैथिल
लोकतन्त्रबाट नेपाली जनताले आशा राखेका थिए । के–के नै होला भनेर मनमा सोचेका थिए । तर देशको हाल बेहाल देख्दा दुःख लाग्छ । नेपाली जनताले बच्चा जन्माउँदा कर लाग्ने भएको छ । जन्म दर्ता, मृत्यु दर्ता गराउँदा स्थानीय निकायमा कर तिर्नु परेको छ । नियमले २००–४०० भए पनि एउटा सानो कामको सिफारिस गराउनु पर्दा १० दिन लाग्दो रहेछ । आजैको आजै गर्नु पयो भने ५०००–२०००० तिर्नुस् सिफारिस गराएर ल्याइदिन्छु । भन्छन्, मातहतका कर्मचारी । जनताले यी यस्ता पीडा भोगिरहेका छन् ।
युवाहरू बेरोजगार छन् । दिनका दिन विदेश जान बाध्य भएका छन् । मुलुक आज यूवाविहिन भएका छन् । बाटाघाटाहरू नियालेर हेर्नुस् यूवाहरू भेटिदैनन् । भेट्छन् उही जो व्यवसाय थापिसकेका छन् । विरामी अथवा अपांग हुन् । होनेहार यूवा जो देशका लागि चाहिएको छ । त्यो देश बाहिर पलायन भइसकेका छन् वा पलायन हुदैछन् । राज्यसँग यसको समाधान केही देखिएको छैन । यस विषयमा कुनै योजना छैन । हिमाल, पहाड र तराईमा जनताहरूको दुःख पीडा उस्तै उस्तै छन् । पहाडमा विकाश गर्न कठिन छ । लागत बढी लाग्छ भनेर विकाश माथि ढिलो भएको कुरा सरकारले स्पष्ट पार्छन् भने तराई–मधेशमा विकास गर्न सरकारले चाहेकै छैन । मधेशका जनताहरूप्रति भेदभावको भावनाबाट प्रेरित भई पन्छाउने गरिएको छ । मधेश क्षेत्रमा सडक बनिरहेको –पीचिङ भइरहेको सफातिर देखिन्छ भने त्यही पीच महिना नपुग्दै उप्किएको पाइन्छ । यसको जिम्मेवार को होला ? ऋणमा लिएको पैसा यसरी वर्वाद पारेको देख्दा नेपाली जनताको मुटु दुःखेको छ । एउटा बाटो निर्माण गर्न थालेको महिनौ बितिसक्दा टुङ्गो लगाउन सकेको देखिएनन् । रेखदेख गर्ने बाँडफाँड गरेर मौन बसेका छन् । यही हो लोकतन्त्र ? गाउँमा सिंहदरवार बनेको यही हो ? लोकतन्त्रको अपज यही हो ?
एउटा सानो मुलुकमा सात प्रदेश बनेको छ । एउटा प्रदेशका लागि चाहिएको जनसंख्या पुगेको छैन । एउटा प्रदेश चलाउन सरकारसँग हुती छैन । तर नाटकीय रूपमा यी यस्ता बेथितिहरू देशमा देखिएको छ । तलब, भत्ता गाडी, निवास, विदेश जाने खर्चको नाममा जनप्रतिनिधिहरू तथा दर्जनौ मन्त्रीहरू, सांसद्हरू केन्द्र र प्रदेशहरूमा राखिएको छ । गाइजात्रा हाम्रो देशमा देखिएको छ । धेरै मन्त्री र सांसद्हरू छन् । सरकारी रजाइमा तीनीहरू मस्त छन् । देशको विकास र जनताको गरीबीसँग उनीहरूको कुनै सम्बन्ध छैन । कमाइको पर्खाइमा मात्र तिनीहरू बसेका छन् । देशको बेथितिबाट हामी नियाल्ने हो ? जताबाट पनि हामी हेर्न सक्छौँ । सवारी साधनमा चढ्दा जथाभावी भाडा माग्छन्, नदिए बेइज्जत गर्छन् । कताका लागि गाडीमा चढाएर माग्छन्, पैसा थुत्छन् र बाटैमा अलपत्र छोड्छन् । सरकारी निकायलाई गुनासो गर्दा उल्टै थुनिदिने भनेर गाली गर्छन् । जनतालाई कुनै सहयोग दिने पक्षमा सरकार छैन । विद्यालय र कलेजमा आफू खुसी मोटो रकम असुल्ने गरेका छन् । विभिन्न विषयमा विद्यार्थीसँग पैसा उठाउने गरेको स्पष्ट देख्दादेख्दै पनि जिम्मेवार निकाय बोल्दैनन् । तरकारी बजार जानुस् मनलागी भाउमा तरकारी फलफूल बेच्छन् । घटी जोख्छन्, बोल्यो भने गाली गर्छन् । प्रशासन हेरेर बस्छन् । लोकतन्त्र भनेको लुटतन्त्र हो । यसमा हरेकलाई लुट्ने, थुत्ने, ठग्ने, बेइज्जत गर्ने, हत्या गर्ने छुट रहेको छ । कानुनी कारवाही कसैलाई गरिदैन । धर्म–कर्म सबै बिग्रियो । जसले जे गर्दा भयो । नेपाल कृषि प्रधान देश भनेर किताबमा लेखिएको छ । यी कुरा अब सपनाझैं बन्न पुगेको छ । कृषिलाई सपार्ने व्यवस्था सरकारले गर्दैन । खेती योग्य जमिन र बारी सबै मल र सिचाइको व्यवस्थाको अभावले बाँझो बन्दैछ । सरकारलाई कुनै मतलब छैन । यसको मुख्य जड के हो भने देश रेमिटान्सको रकम र विदेशीले दिएको भीख वा ऋणको रकमबाट रजाई गर्न पल्केको छ । सरकारी निकायमा बसेका सबैले पैसा लुट्न बसेका छन् । गलत–बदमास र ठगलाई पालेर राखेका छन् सरकारले । तिनीहरू जताबाट भए पैसा सरकारी निकायलाई बुझाउँछन् । त्यसको वापत तिनलाई छुट दिइएको हुन्छ । हिन्दु राष्ट्र नेपाल भनेर नेपाल संसारभरि चिनिन्थ्यो । तर लोकतन्त्रका सरकारले यूरोपियन यूनियनबाट डलर खाएर देशलाई धर्म निरपेक्ष बनायो । देश र जनतालाई कौडीको भाउमा बेच्यो । जनता दुःख पीडाबाट छट्पट्याउँदै छन् । यता सरकार भने रजाइ गरेर बसेका छन् । लोकतन्त्रले उब्जाएका कुरा यिनै हुन् । आम नेपाली जनता पहाडको भए पनि मधेशको भएपनि दुःखी छन् । नेतृत्व गर्ने नेताले ठगे, झुक्याए र जालमा फसाए । सबै नेताहरू एकै टेबुलमा बस्छन्, चिया–वीयर सँगसँगै खान्छन् र जनतामाथि थुकेर बस्छन् । कहाँ गए मधेशी, थारू, जनजातिका मुद्दा ? जनताले के का लागि बलिदान दिएका थिए ? सबै कुरा अब थन्काइयो । ती कुरा र वाचाहरू अब तिनीहरूले बिर्से । यस अवस्थामा अब नेपाली जनताले के गर्ने त ? के यसै पिल्सिएर मर्ने हो ? जनप्रतिनिधिहरूको दम्भ सहेर बसिरहने हो ? यी प्रश्नहरू अब हाम्रो अगाडी छ । जनताका दुई विकल्प मात्र छन् । एक सरकारी निकायलाई एउटा समय दिएर सबै समस्या समाधान गर्ने अल्टिमेटम दिने । सुधार गर्छन् कि भनेर पर्खेर बस्नु प¥यो या त अर्काे विकल्प सरकारी निकायमा बसेर जनप्रतिनिधि वा कर्मचारी सबैलाई लखेट्ने वातावरण बनाउनु प¥यो । यसका लागि एउटा संयन्त्र बनाउनु आवश्यक छ । हिन्दु राष्ट्रको नाममा एकजुट हुने वातावरण सजिलो छ । हिन्दु राष्ट्र पुनः घोषणा गर होइन भने यसको विरूद्वमा जनआन्दोलन नै गर्नुपर्दछ । हिन्दु राष्ट्र बनाउन नेपालमा बसोबास गर्ने मुस्लिम समुदायलाई पनि बेफाइदा छैन । यस विषयमा मुस्लिमहरू पनि एकजुट हुनु पर्दछ । हाम्रो खतरा भनेको इसाइ धर्म नै हो । यसको विरूद्व हामी हिन्दु र मुस्लिम एकवद्ध हुनु पर्दछ । नेपालमा हिन्दुलाई मुस्लिम बनाएको वा मुस्लिमलाई हिन्दु बनाएको एउटा उदाहरण छैन तर पैसाको लोभमा इसाइ बन्ने धर्म परिवर्तन गर्ने धेरै छन् । त्यसैले हामी सरकारको विरूद्धमा हामी एकजुट भएर सडकमा उत्रिनु आवश्यक छ । जनआन्दोलनमा भिड्नु आवश्यक छ । (लेखक : नेपाल लोकतान्त्रीक पार्टी उपाध्यक्ष)(मधेश दर्पण फिचर सेवा)