पशुपति सहकारी संस्थाको २० औँ साधारण सभा सम्पन्न

प्रकाशित मिति:

भैरहवा – तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा स्थित कोटीहवामा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही सभालाई सम्बोधन गर्दै बचत तथा ऋण सहरकारी संस्था प्रदेश नम्बर ५ का अध्यक्ष कृष्ण प्रसाद नेपालले अब एउटै प्रकृतिको कारोबार गर्ने सहकारी मर्जर गरी संयुक्त रुपमा एकिकृत कारोबार गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै अहिले आएको नयाँ कानुनमा बचत तथा ऋण सहकारीले कुनै उद्योग सञ्चालन गर्न नपाउने व्यवस्था रहेकोले शेयर सदस्यलाई ऋणप्रवाह गरी व्यवसायिक रुपमा अगाडि बढाउनु पर्ने बताए ।

शेयरसदस्यहरुले सहकारीबाट लिएको ऋण सही ठाउँमा लगानी गर्दा प्रतिफल हुनुका साथै जीवनभरीको बचतलाई भविष्य सफल बनाउनका निम्ति सहयोग गर्ने कार्यक्रमका विशिष्ट अतिथी तथा तिलोत्तमा नगरपालिका १५ का अध्यक्ष खेमराज गुरुङले बताए । संस्था बचाउनको लागि सहकारीमा सञ्चालक समितिको मुख्य भूमिका रहने भएको बताउँदै संस्थाले इमान्दारीपूर्वक बचतकर्तालाई बिस्वास हुनेगरी संस्थाले काम गर्नु पर्ने संस्थाका निवर्तमान अध्यक्ष डोलराज बस्यालले बताए । एकिकृत पुँजी जम्मा गरी सहकारी व्यवसायमुखी बन्नु पर्ने लेखनाथ पाण्डेले बताए ।

कार्यक्रमामा जेष्ठ नागरिक शेयर सदस्य र एसईई २०७५ मा उत्कृष्ठ अंक ल्याउने सामुदायिक विद्यालय र संस्थागत विद्यालयका एक एक जना छात्र छात्रालाई सम्मान गरिएको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष रामनाथ शर्मा उपाध्यायले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष लालमणि भुसालले आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष शुशिला पाण्डेको स्वागत मन्तव्य र सचिव अर्जुन बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।