ऋण काढेर नर्सिङ पढेका विद्यार्थीको भविष्य अन्योलमा, सीटीईभीटी र कलेजबीच हिलाे छ्यापाछ्याप

प्रकाशित मिति:

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुर ठिमीमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३३ जना नर्सिङका विद्यार्थीको भविष्य अन्योलमा परेको छ । तीन वर्षे प्रमाणपत्र तहको नर्सिङ अध्ययनरत विद्यार्थीलाई सीटीईभीटीले गत साउन २६ गतेदेखि सञ्चालन गरेको प्रथम वर्षको परीक्षामा सहभागी नगराउँदा उनीहरूको भविष्य अन्योलमा परेको हो । अहिले उनीहरू आफ्नो भविष्य अन्योलमा परेको भन्दै न्यायको खोजीमा भौँतारिरहेका छन् । कहिले अदालत त पुग्छन् त कहिले सीटीईभीटी कार्यालय तर पनि उनीहरूकाे कुरा कसले सुन्ने ?

विद्याथीहरूले भोकै, प्यासै, निद्रा केही नभनी न्यायकाे लागि दिनहुँ सम्बन्धित निकायकाे ढाेका ढकढकाइरहेका छन् तर पनि उनीहरूकाे मागकाे सुनुवाई हुने छाटकाट नै छैन । सीटीईभीटीमा गएर बुझ्दा उसले कलेज नै खारेज गरिसकेको बताउँछ भने कलेजमा बुझ्दा चाँडै मुद्दा जित्ने र परीक्षा भएरै छाड्ने बताउछ । विद्यार्थीहरू परीक्षा दिनबाट बञ्चित हुनुमा सीटीईभीटी र कलेजले भने एकअर्कामाथि हिलाे छ्यापाछ्याप गरेर आफू चाेखाे बन्ने दाउपेचले नै समस्या आएकाे बताउछन् ।

के भन्छ कलेज ?

यस विषयमा कलेज सञ्चालन समितिका अध्यक्ष निलकृष्ण ताम्राकारसँग बुझ्दा विद्याथीहरु परीक्षा दिनबाट बञ्चित हुनुमा सीटीईभीटीकै गल्ती भएकाे आरोप लगाए । सीटीईभीटीले उच्च अदालतको आदेशलाई नमान्दा विद्यार्थीहरू परीक्षामा सहभागी हुन नपाएकाे र उनीहरूको भविष्य अन्योलमा परेको ताम्राकारकाे भनाइ छ ।

‘विद्याथीहरुको परीक्षा दिनबाट वञ्चित हुनुमा सय प्रतिशत सीटीईभीटी नै दोष छ, उच्च अदालतले विद्यार्थी भर्ना गर्नु भनेर चार-चर पटक आदेश जारी गरेकाे छ तर उक्त आदेशलाई सीटीईभीटी मानेन,’ न्यूज २४ सँग कुरा गर्दै अध्यक्ष ताम्राकारले भने, ‘उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराई परीक्षामा सहभागी गराउन आदेश दिएकाे छ तर सीटीईभीटीले अदालतको आदेशको अवज्ञा गरी कानुनको समेत मानमर्दन गरेको छ।’

उनले विद्यार्थीहरूले चाँडै परीक्षा दिन पाउने पनि बताए । ‘विद्यार्थीहरूको परीक्षा सय प्रतिशत हुन्छ, अब सर्वोच्च अदालतले फैसला गरेपछि सीटीईभीटीले परीक्षा नगरी सुखै छैन,’ उनले भने, ‘यो मुद्दा अलि सम्वेदनशील छ, धेरै लामो लिँदैन, सर्वोच्च अदालतले पनि चाँडै हेर्छ भन्ने आशामा छौँ । एक महिनाभित्रमा आदेश दिनेछ, सर्वोच्चले फैसला गरे लगत्तै परीक्षा हुन्छ ।’ सीटीईभीटीले कलेजको सम्बन्धन नै रद्द गर्ने कोसिस गरेको उनको आरोप छ ।

चाेखाे बन्दै सीटीईभीटी सीटीईभीटीले भने विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित हुनुमा चक्रवर्ती कलेजलाई नै दोष लगाउँदै आएको छ । अदालतमा मुद्दा चलिरहँदा कलेजले खुरुखुरु विद्यार्थी भर्ना गर्नु ठूलाे गल्ती भएको टीईभीटीका विभागीय प्रमुख जिम नारायण काफ्लेले बताए । २०७४ मा भर्ना भएका विद्यार्थीहरूलाई रजिस्ट्रेसन दिएको तर ७५ मा भर्ना गरेका विद्यार्थीहरूकाे रजिस्ट्रेसन नदिएको उनले बताए । ‘सर्वोच्चले जे आदेश दिन्छ, सोही अनुरूप जाने निर्णय गरेर ७५ मा भर्ना गरेका विद्यार्थीहरूको रजिस्ट्रेसन नदिएको हाे,’ काफ्लेले भने ।

उनले विद्यार्थीहरूको माग एकदमै जायज भएको पनि बताए । सर्वोच्चले कलेजको पक्षमा फैसला गर्‍यो भने विद्यार्थीहरूको परीक्षा भएरै छाड्ने उनको भनाइ छ । ‘पाटन उच्च अदालतले कलेजको पक्षमा निर्णय गरेको छ, अब सर्वोच्चले पनि कलेजकै पक्षमा फैसला गर्‍यो भने विद्यार्थीकाे परीक्षा नगराएर सुखै छैन, बाध्यकारी भए पनि दिनुपर्छ । कानुनभन्दा माथि त कोही छैन, जसरी भए पनि गराउनै पर्छ,’ काफ्लेले भने ।

अहिले यो विषय विवादकै घेरामा भएको भन्दै उनले थपे, ‘विद्याथीहरु र अभिभावकहरू सबैभन्दा दु:खमा छन् । उहाँहरु भ्रममा पर्नुभयो । अब भइहाल्छ भनेर भर्ना गर्नुभयो । तर प्रमुख कारण चाहिँ सीटीइभिटी होइन, कलेज नै हो । सर्वोच्चको निर्णय नआएसम्म केही पनि गर्न सकिँदैन ।’ उनले सर्वोच्चले जे निर्णय गर्छ, त्यही स्वीकार गर्ने पनि बताए । उच्च अदालत पाटनले सीटीईभीटीको निर्णयलाई बदर गरेको समेत उनले बताए । उच्च अदालतले बदर गरेपछि आफूहरू सर्वोच्च अदालत गएको र सर्वोच्चमा मुद्दा दायर भइसकेपछि कलेजले भर्ना लिन नहुने उनकाे भनाइ छ । जबरजस्ती रूपमा विद्यार्थी भर्ना गरेकाले सीटीईभीटीले रजिस्ट्रेसन नदिएकाे समेत उनले स्पष्ट पारे ।

‘सीटीईभिटीले गल्ती गर्‍यो’ भन्नुभन्दा पनि पहिले सर्वोच्चको फैसला सुन्नुपर्ने उनको तर्क छ । विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि अस्पताल कहाँ छ ? भन्ने प्रश्नको स्पष्टीकरणको जवाफ झुटो पेस गरेकाले सम्बन्धन खारेज गर्न बाध्य भएको उनले बताए । सीटीईभीटीसँग कुनै पनि सम्बन्धन तथा स्वीकृत नवीकरण नै नगरी कलेजले विद्यार्थी भर्ना गरेको उनले आरोप लगाए । यता कलेज सञ्चालक ताम्राकारले भने ०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सीटीईभीटीईमा निरन्तर सम्पर्क गरेको तर त्यस बेलादेखि नै बेवास्ता गर्दै आएको कलेजका आरोप लगाएका छन्

पीडित विद्यार्थीकाे हारगुहार विद्यार्थीहरूले चाँडै परीक्षा सञ्चालन गर्नु पर्ने माग राख्दै आएका छन् । कलेज र सीटीईभीटबीच जे जस्तो विवाद भए पनि आफ्नो परीक्षा सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । ‘हाम्रो माग भनेको हाम्रो भविष्य अन्योलमा नपरोस् भन्ने हो, हामीले यसै वर्ष परीक्षा दिन पाउनुपर्छ र अरूसँगै रेगुलर रूपमा पढ्न पाउनुपर्छ । हामी ३३ जना छौँ, जसरी भए पनि चाँडो भन्दा चाँडाे परीक्षा हुनुपर्छ,’ परीक्षा दिनबाट वञ्चित भएकी विद्यार्थी कमला थापाले भनिन् ।

विद्यार्थीहरूले परीक्षा दिन ढिलो भइसकेको पनि बताए । ‘हामी अहिलेसम्म कानुन कुरेर बसेका छाैँ, अदालतले पनि चाँडै फैसला गर्नुपर्‍यो,’ विद्यार्थी थापाले भनिन् । उनीहरूले आफूहरू कानुन भन्दामाथि पनि जान नसक्ने बताए । परीक्षा दिनबाट वञ्चित भएकी अर्की विद्यार्थी अनुस्का चाैलागाईंले सीटीईभीटले गर्दा आफूहरुले परीक्षा दिन नपाएको दुखेसाे पाेखिन् । ‘हामीले परीक्षा दिन नपाएपछि उच्च अदालत गएर बुझ्यौँ, त्यहाँ बुझ्दा कलेजले उच्च अदालतमा मुद्दा जितेको रहेछ । तर सीटीईभीटले उच्च अदालतको निर्णय नमानी सर्वोच्च अदालत गएको रहेछ,’ उनले भनिन् ।

सिटिईभिटीलाई उद्धृत गर्दै एक छात्राले भनिन्, ‘हामी उच्च अदालतको कुरा मन्दैनौं, हामी सर्वोच्च अदालत गएका छौँ भनेर दु:ख दिएकाे छ ।विगत चार वर्षदेखि कलेज र सीटीईभीटबीच विवाद चलिरहेको रहेछ तर आफूहरुलाई थाहा नभएकाे विद्यार्थीहरू बताएका छन् । कलेजले विज्ञापन खुलाएको आधारमा आफूहरू त्यहाँ पढ्न गएको र परीक्षा आउने बेलासम्म पनि कलेजले ‘परीक्षा हुन्छ, ढुक्क भएर बस्नुहोस्’ भन्दै आश्वसान दिएको पनि विद्याथीहरुले सुनाए । ‘कलेज भर्ना हुने बेलामा कलेजले सीटीईभीटसँग अगाडि भएका विवादहरू सबै समाधान भइसको बताएको थियो,’ थापाले भनिन्, ‘कलेजले सीटीईभीटलाई पनि जितिसक्याैँ भन्याे । अदालतले हामीलाई एउटा स्वीकृत सिफारिस दिएको छ, तपाइहरू पढ्न आउनुहोस् भनेपछि हामीले भर्ना गरेका थियौँ ।’

सीटीईभीटीमा गएर बुझ्दा सीटीईभीटीले कलेज खारेज गरिसकेको बताएकाे उनीहरूकाे भनाइ छ । ‘हामी पढ्न सुरू गरेकाे २ वर्ष हुन लाग्याे, को को पढिरहेका छन् ? के भइरहेको छ ? भनेर जानकारी सीटीईभिटीले दिनुपर्थ्यो, जब परीक्षा हुन लाग्यो अनि सीटीईभिटीले हामीलाई प्रवेशपत्र नै दिएन,’ थापाले भनिन्, ‘हामी भोकै-प्यासै, निद्रा केही नभनी दिनहुँ धाएर परीक्षा गरिपाऊँ भन्यौँ, तर पनि हाम्रो केही लागेन । कलेजको गल्ती छ भने कारबाही गनुपर्छ । तर हामी ३३ जना विद्यार्थीहरूको भविष्य चाहिँ अन्योलमा नपारिदिनुहोस् भन्यौँ तर सुनुवाई भएन ।’ अदालतले पनि फैसलाकाे मिति सारेकोसारेकै छ । ‘अदालतमा के भइरहेको छ खै, ५ गते फैसला हुनु पर्ने थियाे तर भएन । त्यसपछि आज हेर्न समय नै भएन भन्दै १० गते १५ गते, २४ गते र ३१ गते भन्दै सारेकाे सारेकै गर्याे । तर अझै पनि फैसला भएकै छैन,’ चाैलगाइले भनिन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बारा २०५९ सालमा सम्बन्धन प्राप्त उक्त एकेडेमीमा २०६१ सालदेखि नर्सिङमा प्रविणता प्रमाणपत्र तहमा पढाइ हुँदै आएको थियाे । तर २०७४ असोज २२ गते तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चक्रवर्ती कलेजले पटकपटक सीटीईभीटीको नीति निर्देशनविपरीतका गतिविधि एवं विद्यार्थी भर्ना गरेकाे भन्दै सम्बन्धन खारेजीको निर्णय गरेको थियो । – न्युज२४नेपाल