संबिधान पुनर्लेखनको बिकल्प छैन–महासचिव सुर्यर्बसी

प्रकाशित मिति:

बुटवल –राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको संबिधान २०७२ पुनर्लेखन गर्नुपर्ने माग गर्दै शुक्रबार बुटवलमा दबाब तथा खबरदारी सभा सम्पन्न गरेको छ ।सरकारले असोज ३ गते संबिधान दिवस उत्सवको रुपमा मनाउन आग्रह गरेको बेला राष्ट्रिय जनमुक्ति पार्टीले भने संबिधानको पुनर्लेखनको माग गर्दै बुटवलमा प्रदर्शन गरेको हो ।सभालाई संबोधन गर्दै पार्टीका महासचिव केशव सुर्यबंसी मगरले संबिधानलाई सबैले अपनत्व गर्न संबिधान पुनर्लेखन गर्नुको बिकल्प नभएको बताए ।

संबिधानमा धेरै त्रुटीहरु रहेको उल्लेख गर्दै उनले त्यसमा रहेका त्रुटीहरुलाई सच्याउन संसोधनले मात्रै नपुग्ने भएकोले पुनर्लेखनको आवस्यकता परेको बताए ।कसैले संबिधानको खारेजी र कसैले संसोधनको कुरा उठाएको अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टीले संबिधान पुनर्लेखनको माग अगाडी सारेको भन्दै महासचिव सुर्यबंसी मगरले संबिधानमा रहेका सबै राम्रा कुरा यथावत राख्ने,नराम्रा कुरा जति हटाउने र नपुगेका धेरै कुरा समावेस गर्नकालागि पार्टीले संबिधान पुनर्लेखनको माग अगाडी सारेको जानकारी गराए ।उनले पुनर्लेखन नगरिए बर्तमान संबिधानले २०८२ साल नदेख्ने दाबी समेत गरे ।संबिधान संसोधनको कुरा जनताहरुलाई अल्मल्याउने खेल मात्रै भएको भन्दै सो कुरा मधेसवादी दलहरुसँग सरकारले गरेको संबिधान संसोधनको सम्झौताले पुष्टि गरेको बताए ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दी,गुज्राती र अंग्रेजीमा शुभकामना सन्देश दिए पनि नेपाली भाषामा शुभकामना सन्देश नदिएर चाकडीको नमुना प्रदर्शन गरेको टिप्पणि गरे ।भएका उद्योग धन्दा बन्द गर्नेहरुले समृद्धिको सपना देखाएको भन्दै उनले भ्रष्टाचारको अन्त्य नगरी मुलुक समृद्ध हुन नसक्ने बताए ।घर घरमा राष्ट्रिय झण्डा राखेर र दिपावली गरेर संबिधान दिवस मनाउन सरकारले आह्वान गरे पनि आफ्नै पार्टीका कार्यकर्ताहरुले समेत झण्डा नराखेको उनको दाबी थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ का अध्यक्ष झम बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा जातीय समन्वय बिभाग प्रमुख दलबहादुर बिरकट्टा मगर,पार्टी उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख कमला थापा,राष्ट्रिय पुर्व सैनिक संगठनका अध्यक्ष भिम बहादुर राना,राष्ट्रिय महिला मोर्चाकी बरिष्ठ उपाध्यक्ष मधु राना,नेपाल आदीबासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष संकर गाहा,राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश सचिव बालकिशोर राना,जिल्ला अध्यक्ष प्रेम बहादुर थापालगायतले बोल्दै संबिधान पुनर्लेखन गरेर सबैका अधिकार सुनिस्चित नगरे सम्म आफुहरुको संघर्ष जारी राख्ने र संबिधान दिवस नमनाउने बताए ।संबिधान दिवसको अवसरमा प्रदेश सरकारले रात्री भोजको आयोजना गरेको भन्दै उनिहरुले सडकमा चाट फुल्की बेच्ने र मकै पोलेर जिबिकोपार्जन गर्नेहरुबाट उठाएको करले भोज नखान चेतावनी दिए । कार्यक्रममा संबिधान दिवस असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेको नेपाल आदीबासी जनजाती महासंघ रुपन्देहीको समेत सहभागिता रहेको छ ।यस अघि बुटवलको राजमार्ग चौराह बाट सुरु भएको ¥याली मिलनचोक,अस्पताललाइन हुँदै ट्राफिक चोकमा पुगेर खबरदारी सभामा परिणत भएको छ ।