बुटवलकी पुष्पा पुगिन् छमछमीको टप ७ मा

प्रकाशित मिति:

बुटवल-बुटवलकी पुष्पा घिमिरे क्षेत्री नेपाल टेलिभिजनबाट प्रशारण हुने राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को उत्कृष्ट ७ जनामा पुग्न सफल भएकी छन् । पुष्पाले दर्शकबाट सबैभन्दा धेरै मत पाएर उत्कृष्ट ७ जनामा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । गत हप्ता उत्कृष्ट ८ जनामध्येबाट दर्शकबाट कम भोट पाएका धनगढीका थमन टक्की बाहिरिएका थिए । यो हप्ता भने सातजनामध्ये कोही पनि बाहिरिएनन् । अर्को हप्ता दर्शकबाट कम भोट पाउने दुई जना बाहिरिने छन् र फाइनलमा पुग्ने उत्कृष्ट पांच जनाको नाम घोषणा हुने छ । नेपाल टेलिभिजनमा हरेक शनिबार राति ९ बजेदेखि प्रशारण शुरु हुने ‘छमछमी’ कार्यक्रमका प्रतियोगीलाई कार्यक्रम सकिएपछि सोही राति १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने नियम छ ।

दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिंदै जांदा सबै भन्दा बढी भोट पाउने नै विजेता बन्ने नियम छ । प्रतियोगितामा ६० प्रतिशत अंक निर्णायकको र ४० प्रतिशत अंक भोटिङका आधारमा जोडिने नियम छ । हालसम्म पुष्पाले दर्शकबाट सर्वाधिक भोट पाउंदै आएको र अब उपाधिका लागि पनि यसरी नै भोट गरिदिन पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले आग्रह गरे । पुष्पा बुटवल वडा नंं ११ सिरानगाउं मजुवाकी बासिन्दा हुन् । घरको आर्थिक अवस्था कमजोर रहेकी पुष्पालाई जिताउन उनका साथीभाइ, छिमेकी र देश विदेशका शुभेच्छुकहरु लागिपरेका छन् । नृत्य प्रतिभा एकदमै राम्रो हुंदाहुंदै पनि घरको कमजोर आर्थिक अवस्थाले अघि बढ्न बाधा–अवरोध भएकाले छमछमीमा जिताउन उनका शुभेच्छुकहरुले प्रचारप्रसार र आर्थिक संकलन अभियान संचालन गरेको पुष्पाकी फुपु सीता पौडेलले बताइन् ।

कक्षा ५देखि नै नृत्य प्रतियोगिताहरुमा भाग लिंदै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी पुष्पा लगनशील र संघर्षशील प्रतिभा हुन् । सरकारी विद्यालय बुटवल माविबाट कक्षा १० र सामुदायिक क्याम्पस सिद्धार्थ गौतम क्याम्पसबाट १२ कक्षा उत्तिर्ण गरेकी पुष्पा स्थानीय एक कला केन्द्रमा नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएकी छन् । ‘पुष्पाले नृत्यमा केही गरेर देखाउन चाहन्छिन्,त्यसका लागि उनलाई सबैको भोटिङ र साथको खांचो छ’–पुष्पाकी फुपु सीता पौडेलले भनिन् । पुष्पालाई जिताउन चाहनेले मोबाइलको म्यासेज बक्समा गई अंग्रेजी अक्षर सी टाइप गरी स्पेस शुन्य ६ टाइप गरी ३१००९ मा पठाउनुपर्ने पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले बताए । पुष्पासंगै उत्कृष्ट सातजनामा झापाकी दिलमाया लिम्बु,पोखराकी सपना थापा हेटौंडाकी सन्ध्या आचार्य,काठमाडौंका सुदन खड्का र दाङका आकाश विक उपाधि जित्ने प्रतिस्पर्धामा छन् ।