नमुना मत्स्य पर्यटन जिल्ला बनाउने पहल

प्रकाशित मिति:

नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट दिवाकर भुषाल (दिपु) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वमम्मत चयन भएको छ ।  शनिवार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेम पन्थी, उपाध्यक्षमा पार्वती बुढाथोकी, सचिव धनपती खरेल(भुपती), सह सचिव प्रेम अधिकारी र कोषाध्यक्षमा धनिराम चौधरी निर्वाचित हुनु भएको हो । त्यस्तै सदस्यहरुमा दिलीप मौर्या, ज्ञानु खड्का, हेम कुमार कुर्मी, ज्ञानेन्द्र खनाल, कविता थारु र किशोर चौधरी हुनुहुन्छ । नव निर्वाचित अध्यक्ष दिपु भुषालले रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गर्ने गरि योजना बनाएको बताउनुभयो । सबै किसानको सहयोगमा व्यापार सँगसगै अब पर्यटनका रुपमा समेत आफ्नो व्यवसायलाई स्तरउन्नती गरी पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न माछा पोखरीमा माछा मार्ने व्यवस्था, पौडी खेल्ने, र्याप्टिङ्ग लगायतको प्याकेज बनाएर पर्यटन व्यवसायीसँग सहकार्य गर्ने भुषालको भनाई थियो । साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष पुण्य चौधरीले नेपालको माछा उत्पादनले नेपालको बजारमै अपुग रहेको बताउनुभयो ।

त्यसको लागि उत्पादन बढाउनुपर्ने उहाँले बताउनुभयो । परम्परागत तरिकाले गरिदै आएको माछा पालनलाई सुधार गर्दै आधुनिकिकरण गर्न अहिलेको आवश्यकता रहेको चौधरीले बताउनुभयो । बिशिष्ट अतिथी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपर जोनका प्रमुख मकबुल अलीले किसानहरुले उत्पादन गरेको माछाबाट लागत अनुसारको मुनाफा लिन नसकेको बताउनुभयो । शुरुमा किसानहरु व्यवसायी बन्न जरुरी छ त्यसका लागि उनीहरुले साना पोखरीहरु चक्लाबन्दी गरी ठूलो बनाउनुपर्ने उहाँले बताउनुभयो । ठूलो क्षेत्रफमा प्रविधियुत्त माछा पालन गरे उत्पादकत्व बढ्ने र फाइदा बढी लिन सकिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले भारतीय माछासँग प्रतिस्पर्धा गर्न नेपाली माछाले नसकेको गुनासो गर्नुभयो । भारतबाट १५, २० दिन अघि मारेका माछा फर्मालिन प्रयोग गरेर नेपालमा आयात हुँदा समेत नेपाल सरकारले गुणस्तर ठिक भनेर भित्राउँदै आएको आरोप लगाउनुभयो । सरकारले मरेका गुणस्तरहिन माछा आयातमा रोक लगाई नेपाली उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभयो । नेपाली बजारमा अपुग माछालाई पुर्याउन सरकारले नर्या उन्नत जातका भुरा उपलब्ध गराउने, गुणस्तरको दानको व्यवस्था, सरकारी अनुदान बढाउने जस्ता कार्यक्रम आवश्यक रहेको मत्स्य व्यवसायी संघका केन्द्रिय अध्यक्ष अधिकारीले बताउनुभयो ।