परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान, यूएनको महासभामा सम्बोधन गर्ने

प्रकाशित मिति:

काठमाडौँ –परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सरस्वती ज्ञवाली, राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन अधिकारी लगायत छन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीसहित सरकारी अधिकारीले बिदाइ गरेका थिए ।७४ औं महासभामा ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुनेछ । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नेछन् ।महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्च र ‘राष्ट्रसंघीय विकासका लागि लगानी संवाद’ विषयक बैठकमा समेत सहभागी हुनेछन् ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रीस्तरीय संयन्त्र अर्थात् राष्ट्रसंघीय मध्यस्थकर्ता मैत्री समूह, शान्तिकार्य सम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३०औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ ।मन्त्री ज्ञवालीले असंलग्न आन्दोलन ९नाम०, जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रीस्तरीय बैठकलाई बेग्लाबेग्लै सम्बोधन गर्नुहुनेछ भने एशियाली सहयोग संवाद ९एसिडी० को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ ।महासभामा भाग लिने सिलसिलामा नै मन्त्री ज्ञवाली विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनेछन् भने संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्यूयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी शिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नेछन् ।यसअघि महासभाकै सिलसिलामा हुने विश्वव्यापी स्वास्थ्य सरोकार बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र जलवायु परिवर्तनसम्बन्धी अर्को उच्चस्तरीय बैठकमा सहभागी हुन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत न्यूयोर्क प्रस्थान गरिसकेका छन् ।