चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको रुट परमिट खुल्ला गरिने

५ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
39 Shares


काठमाडौं-नेपालीका महान चार्ड दशैँ, तिहार, छठलगायतको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ ।सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने उनले बताए । सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिना रोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् ।सवारी साधनको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुला गरिएको पनि हमालले बताए ।

यात्रु ठग्नेलाई ठाउँको ठाउँ कारबाही

विगतमा चाडपर्वका बेला सवारी साधनले यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाइए पनि यो वर्ष त्यस्तो कुनै घटना नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।बढी भाडा लिएको भेटिएमा यो वर्ष ठाउँको ठाउँ कारबाही गर्ने अधिकारसहितको अनुगमन समिति बनाइएको र सम्पूर्ण जिम्मेवारी दिइएको महानिर्देशक हमालले जानकारी दिए ।उनका अनुसार यात्रु ठग्नेलाई जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया