काउनमा महिला समिति गठन

प्रकाशित मिति:

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) को केन्द्रीय महिला समितिले जिल्ला जिल्लामा महिला समिति गठन गर्ने अभियानलाई तिब्र बनाएको छ । असंगठित क्षेत्रका श्रमिक महिलालाई संगठित गर्दै उनीहरुका हक अधिकारलाई सुनिश्चित गर्ने कार्यक्रम अन्तरगत महिला समिति गठन अभियानलाई तिब्र पारिएको काउनकी केन्द्रीय महिला अध्यक्ष सपना तामाङले बताउनु भयो ।

संविधानमा महिलाकालागि ३३ प्रतिशत सिट सुरक्षित गरिएपनि कुनैपनि समिति गठन गर्दा अहिलेपनि महिला खोज्नुपर्ने बिद्यमान अवस्थामा सबै जिल्लामा महिला समिति गठन गरि महिलाको डाटा संकलन गर्ने अभियानमा काउन महिला समिति क्रियाशिल रहेको अध्यक्ष तामाङले बताउनु भयो । यहि अभियान अन्तरगत रुपन्देही जिल्लाको बुटवलमा शुक्रबार भएको श्रमिक महिलाहरुको भेलाले भागमनी चौधरीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा ईस्रावती मल्लाह, सचिवमा मोहनी चौधरी, सहसचिवमा शारदा थारु, कोषाध्यक्षमा बिस्नीदेवी थारु तथा सदस्यहरुमा सुस्मा गुरुङ्, चन्दा विश्वकर्मा, यशोदामैया चौधरी र तुलसी थारु रहेका छन् ।

निर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै केन्द्रीय अध्यक्ष तामाङले सबै जिल्लामा महिला समिति गठन गरिसकेपछि महिलाको क्षमता र अवस्था हेरेर आवश्यक सीप तथा नेतृत्व बिकास तालिम सञ्चालन गरिने बताउनु भयो । त्यस अवसरमा काउनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले महिलाको समिति गठनसंगै उनीहरुलाई नेतृत्व र क्षमता बिकास सम्बन्धि तालिम आवश्यक भएको बताउनु भयो ।

काउन रुपन्देहीका अध्यक्ष बिरबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ, कोषाध्यक्ष सूर्यदेव दास, काउनका निवर्तमान अध्यक्ष सुशिल घिमिरे, पत्रकार खिमानन्द भट्टराई, जिल्ला उपाध्यक्ष हिरा थापा लगायतले बोल्दै महिलाले आफ्ना अधिकार अरुले उठाईदेओस भन्ने भन्दा पनि आफ्ना अधिकार स्थापित गराउनकालागि आफै लड्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो । देशका ७७ जिल्ला मध्ये हालसम्म ५७ जिल्लामा संगठन बिस्तार गरी काउनले मजदुर हकाधिकारका निम्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।