प्रचण्ड भन्छन – संविधान र राज्यप्रणाली खतरामा छैन

प्रकाशित मिति:

विराटनगर – पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र राज्यप्रणालीको विषयमा कुनै खतरा नरहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले परिवर्तन उल्ट्याउने गतिविधिका कारण राज्य प्रणाली खतरामा नरहेको बताउनु भएको हो । ‘केही अराजक गतिविधि देखिएका हुन्, त्यसलाई प्रतिवाद गर्न सबै राजनीतिक दलहरु एकतावद्ध हुन तयार छौं ।’, अध्यक्ष प्रचण्डले भन्नुभयो –‘अस्ती भर्खरै आयोजित सर्वदलीय बैठकमा अराजक गतिविधिप्रति सचेत रहने विषयमा छलफल भएको छ ।’

उहाँले संविधान र राज्य प्रणालीलाई दोष देखाएर अराजक गतिविधि गर्नेहरुलाई राजनीतिक र साँस्कृतिक बहसबाट परास्त गरिने बताउनुभयो । सरकार र सबै राजनीतिक दलहरु सचेत रहँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उहाँले बताउनुभयो । सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर बन्दै गएको बताउँदै अध्यक्ष प्रचण्डले विकास र सुशासन कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो । पार्टी भित्रै सरकारको कामको समीक्षा भईरहेको बताउँदै अध्यक्ष प्रचण्डले सरकारले काम नै नगरेको भन्ने विषय प्रचारबाजी मात्रै स्पष्ट पार्नुभयो ।

‘गतवर्ष केही मौलिक हकसँग सम्बन्धित कानुनहरु बनेका छन्, विकासका योजनाहरुले तिव्रता पाएका छन् ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो – तेलको पाइपलाइन शुभारम्भ गरिनु यो सानोतिनो विषय मात्रै हैन ।’ उहाँले आर्थिक वृद्धिदरको अवस्था पनि सकारात्मक रहेकोले केही भएन र हुँदैन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर र विस्तार गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीसँग रहेको बताउनुभयो ।

मन्त्रिमण्डल हेरफेर र विस्तारको कुरा मलाई नसोध्नु न प्लिज भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई आवश्यक पर्दा उहाँले गर्नुहुनेछ, भन्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य भईसकेको बताउँदै अध्यक्ष प्रचण्डले दैनिक पाँच घण्टासम्म खट्न थाल्नु भएको बताउनुभयो । नेतृत्वको कार्यकाल बाँडफाँडको विषय पार्टीको सहमति र निर्णयका आधार हुने बताउनुभयो । संविधानप्रति विरोधमा रहेका मधेशवादी दलहरुको मुद्दा न समर्थन न विरोधको अवस्थामा रहेको पनि अध्यक्ष प्रचण्डको भनाई थियो । हामी यसविषयमा पनि छलफल गरिरहेका छौं, सबैसँगको सहमतिमा अगाडि बढ्ने कुराको प्रतिक्षामा रहेको उहाँले बताउनुभयो ।