विज्ञान विषयको नतिजा कमजोर

५ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
5K Shares

File

प्रकृति अधिकारी/काठमाडौँ- नेपालमै १९९० सालबाट प्रवेशिका परीक्षा दिन पाउने व्यवस्था सुरु हुँदा विज्ञान विषयलाई ऐच्छिक बनाइएको थियो । वि.सं. २००५ बाट प्रवेशिका परीक्षामा अनिवार्य विषयअन्तर्गत विज्ञानले प्रवेश पाएको थियो । त्यो बखत यसलाई विज्ञान समूहअन्तर्गत राखिएको थियो । त्यस बखतदेखि नै विज्ञान विषयको नतिजा मध्यमस्तरको हुँदै आएको छ । विगतमा विज्ञान विषयमा अधिकांश विद्यार्थीको नतिजा तेस्रो श्रेणीमा रहन्थ्यो भने अहिले सी ग्रेडमा रहेको पाइन्छ । प्रयोगात्मक परीक्षा सञ्चालन नै नगरी शिक्षकको खल्तीबाट सीधै २५ अङ्क प्रदान गरिँदा हजारौँ विद्यार्थीले सी ग्रेड उक्लिने अवसर पाएका हुन् । गत २०७५ सालको प्रवेशिका (एसईई) परीक्षाको नतिजा हेर्दा विज्ञान विषयमा सबैभन्दा बढी सी ग्रेडमा परीक्षार्थीको भीड देख्न पाइन्छ । गत वर्ष अनिवार्य विज्ञान विषयमा ९० हजार ८९१ जना परीक्षार्थीले सी ग्रेड प्राप्त गरेका थिए । जबकि यस विषयमा ए प्लस १९ हजार ५६२ जनाले ल्याउन सफल भएका थिए । प्रवेशिकाका विद्यार्थीका लागि सबैभन्दा कठिन विषयका रूपमा अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषय नै रहने गरेको छ । यी तीन विषयको तुलना गर्दा सबैभन्दा कमजोर गणितमा रहे पनि अन्य विषयसँगको तुलनामा विज्ञान विषयको नतिजालाई उत्साहजनक मान्न सकिँदैन ।

गत २०७५ सालको प्रवेशिका परीक्षामा प्रदेश २ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो र यसबाट पनि विज्ञान विषयको कठिनाइ प्रस्ट हुन्छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले भन्नुभयो, “अधिकांश विद्यालयमा विषयगत शिक्षक छैनन् । एसएलसी उत्तीर्ण शिक्षकले नै माध्यमिक तहमा विज्ञान विषय अध्यापन गर्नुपरेपछि यसले नतिजामा सुधार ल्याउन सक्दैन । ” सात दशकअघि दरबार हाई स्कुलका विद्यार्थीले इच्छाधीन विषयका रूपमा रहेको विज्ञान छनोट गरेमा उनीहरूले प्रयोगात्मक परीक्षा दिन त्रिचन्द्र कलेजमा जानुपथ्र्याे, पछि प्रयोगात्मक परीक्षाको व्यवस्था नै हट्यो । २०५८ सालबाट प्रवेशिका परीक्षामा पुनः अनिवार्य विज्ञान विषयको सैद्धान्तिकतर्फ ७५ र प्रयोगात्मकतर्फ २५ पूर्णाङ्क कायम गरियो । सैद्धान्तिकतर्फ कमजोर नतिजा रहे पनि प्रयोगात्मकतर्फ सबै विद्यार्थी अब्बल नै देखिन्छन् । पनिकाका अनुसार सैद्धान्तिकतर्फ विद्यालयहरूले प्रायः सबै विद्यार्थीको अङ्क २४ वा २५ नै पठाइदिने गरेका छन् । सैद्धान्तिकमा १५ अङ्क मात्र ल्याउन सक्ने विद्यार्थीको प्रयोगात्मकमा दिइएको २५ अङ्क जोड्दा सी ग्रेड हुने हुँदा प्रवेशिकामा वास्तविक प्रयोगात्मक परीक्षा सञ्चालन गरिएमा विद्यार्थीको भीड अझ तल ओर्लिने दाबी शिक्षाविद्हरूको छ । यस्तै स्थिति छ कक्षा ११ र १२ मा पनि ।

गत वर्ष कक्षा ११ का विज्ञानअन्तर्गतको भौतिकशास्त्र विषयमा ४५० जना परीक्षार्थीले ए प्लस ग्रेड ल्याउन सफल भएका थिए, जबकि त्यही विषयमा ३२ हजार ८४४ परीक्षार्थीले भौतिकशास्त्रको प्रयोगात्मकमा ए प्लस ग्रेड प्राप्त गरेका थिए । यसबाट पनि कक्षा ११ मा समेत प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क प्रदान गर्ने गरेको प्रस्ट हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारीअनुसार गत वर्ष कक्षा ११ मा रसायनशास्त्र विषयको सैद्धान्तिकमा ७३० र प्रयोगात्मकमा ३३ हजार २८७ जनाले तथा जीवविज्ञान विषयको सैद्धान्तिकमा तीन र प्रयोगात्मकमा २४ हजार ५९६ जनाले ए प्लस ग्रेड प्राप्त गरेका थिए । गत वर्षको कक्षा १२ को नतिजाअनुसार भौतिकशास्त्रको सैद्धान्तिकमा दुई हजार ६०४ जनाले र प्रयोगात्मकमा ३२ हजार ३३५ जनाले, रसायनशास्त्रको सैद्धान्तिकमा एक हजार ७४० जनाले र प्रयोगात्मकमा ३२ हजार ३७८ जनाले तथा जीवविज्ञानको सैद्धान्तिकमा ५७ जनाले र प्रयोगात्मकमा १९ हजार ७१ जनाले ए प्लस प्राप्त गर्न सफल भएका थिए । सबैभन्दा बढी विद्यार्थी बी र सी प्लसमा रहेका छन् ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सी ग्रेडसम्मले चिकित्साशास्त्र वा इन्जिनियरिङ विषयमा भर्ना हुन पाउने हुँदा त्यस ग्रेडमा भीड जम्मा हुनुले नतिजा नराम्रो मान्न नमिल्ने तर्क गर्दै भन्नुभयो, “५४ हजार परीक्षार्थीमध्ये डी र ई ग्रेड ल्याउनेहरू जम्मा छ हजार भएकाले नतिजा नराम्रो मान्न सकिन्न । ”

विज्ञानमा जगदेखि नै कमजोर अवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष कक्षा ८ का विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा अनुसन्धान गरेको थियो । सो अनुसन्धानका क्रममा कक्षा ८ का विद्यार्थीको विज्ञानमा ५६ प्रतिशत विद्यार्थीको सिकाइ कमजोर रहेको पाइएको थियो । विज्ञानमा सबैभन्दा कमजोर प्रदेश १ का विद्यार्थी रहेको सो केन्द्रले निष्कर्ष निकालेको थियो । तीन दशकदेखि विज्ञान विषय अध्यापन गर्दै आउनुभएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपाध्यक्ष तुकाराम ढकालले आन्तरिक मूल्याङ्कन गर्दा शिक्षक इमानदार नबन्दा कमजोर विद्यार्थीलाई पनि पूर्ण अङ्क प्रदान गर्ने गरेको बताउँदै भन्नुभयो, “अहिलेको पठनपाठन गुणस्तर केन्द्रित छैन । सूचना प्रविधि र ट्युसनले अब्बल बनाएको छ । मेहनत गर्नुपर्छ भन्ने बुझेका छैनन् । त्यसैले विज्ञानमा गुणात्मक सुधार देखिएको छैन । ”– गोरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया