शान्ति सुरक्षा कायम राख्न सबैको साथ जरुरी : एसपी थापा

प्रकाशित मिति:

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रहरी उपरीक्षक एसपी हृदय थापाले उद्योगी व्यवसायीहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने बताएका छन । उनले व्यवसायीले ढुक्कका साथ आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न पाउने वातावरणको सिर्जना हुने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग व्यापार संगठन रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपी थापाले शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको एक्लो प्रयासले मात्र नहुने भएकाले सबैको रचनात्मक सहयोग र सदभावको अपेक्षा रहेको बताए ।
आफु कसैको पक्ष विपक्षमा नलागी कानुन अनुसार नै अगाडी बढ्ने उनको भनाइ थियो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुर्दशन प्रसाद सिलवालले नागरिकलाई गास, बास र कपास जस्तै सुरक्षा पनि आवश्यक रहेको बताए । उनले नागरिकसंग समन्वय गरेर अगाडी बढ्नुपर्ने मान्यतामा प्रतिबद्ध रहेको बताए ।
होटल संगठनका वरिष्ठ उपाध्यक्ष ग्रिस चन्द्र त्रिपाठीको स्वागत मन्तव्य, निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।