सडक निर्माणमा ढिलाईपछि भैरहवाका स्थानीयको विरोध

प्रकाशित मिति:

भैरहवा – ठेकेदारको ढिलासुस्तीले सडक निर्माणमा ढिलाई भएको भन्दै सीमा क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका छन् । शनिबार नेपाल–भारत सीमानाका आधा घण्टा बन्द गरेका उनीहरुले आइतबार पनि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ का स्थानीय बासिन्दाले नाका बन्द गर्दै विरोधमा उत्रिएका हुन् । भैरहवा भन्सार कार्यालयको गेट अगाडि स्थानीयले चक्काजाम गरेर विरोध गर्दा केही बेर सवारी आवतजावत ठप्प भयो ।

भारतसँग सीमा जोडिएको बेलहियादेखि बाईपास रोडसम्म करिव छ किलोमिटर ठेक्का लिएको बिरुवा कन्ट्रक्सनले साढे दुई वर्ष हुँदासम्म पनि सडक निर्माण गरेको छैन । दुई वर्षअघि नै भत्काइएको सडक निर्माण रोकिँदा घाम लाग्दा उड्ने धुलो र पानी पर्दा हुने हिलोले स्थानीय आजित छन् । “हामीले धेरैपटक प्रशासनलाई जानकारी गरायौं । ठेकेदारलाई भेटेरै काम चाँडो गर्न भन्यौं । आयोजनालाई पनि काममा विलम्ब भएको भन्दै सचेत गरायौं तर कुनै निकायले नसुन्दा हामी बाध्य भएर नाका नै अवरोध गर्न उत्र्यौं”–स्थानीय बासिन्दा समेत रहेका नेपाल–भारत मैत्री समाजका अध्यक्ष डा.शान्तकुमार शर्माले भन्नुभयो । बेलहिया स्थलमार्ग हुँदै सबैभन्दा धेरै तेस्रो मुलुकका पर्यटन भित्रिने नाका समेत हो । तर ठेकेदारले सडक निर्माण अलपत्र पार्दा यहाँबाट भित्रिने पर्यटक नाक थुनेर ओहोरदोहोर गर्छन् ।

अध्यागमन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष बेलहिया नाका हुँदै तेस्रो मुलुकका मात्रै पौने दुई लाख पर्यटक नेपाल भित्रिन्छन् । तथ्यांक नराखिए पनि दुई लाख बढी भारतीय पर्यटक आउँछन् । लामो समयदेखि अलपत्र छाडिएको सडकका कारण स्थानीयसँगै पर्यटकले सास्ती खेप्ने गरेका छन् । “धुलोले यहाँबाट ओहोरदोहोर गर्ने मानिस चिन्नै मुस्किल पर्छ । यस्तो अवस्था कति सहेर बस्ने भनेर हामीले विरोध गरेका हौं । यदि अझै पनि सम्बन्धित निकायले सुनेन भने हामीले बेलहियाबाट यातायात चल्नै दिन्नौं”–स्थानीय एवं लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेतले भन्नुभयो । अहिले प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष–२०७६ मनाइरहेको छ । संघ सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाउने तयारी थालेको छ । तर स्थलमार्गबाट मुलुकमै सबैभन्दा बढी पर्यटक भित्रिने नाका अस्तव्यस्त हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । “नाका क्षेत्र यस्तै रह्यो भने हामीले भित्र्याउने भनेका २० लाख पर्यटक सपनामै सीमित रहन्छ”, अध्यक्ष शर्माले भन्नुभयो–“सरकारले छिटोभन्दा छिटो समस्या समाधान गरी नाकालाई सुन्दरीकरण गर्नुपर्छ । काम नगर्ने ठेकेदारलाई दण्ड जरिवाना सहित कारबाही गर्नुपर्छ ।”

स्थानीयको बन्दले आधा घण्टा बेलहियाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । दैनिक मालबाहक र अन्य सानाठूला गरी एक हजार बढी सवारी ओहोरदोहोर गर्ने ठाउँमा भएको चक्काजामले दिनभर ट्रफिक जाम भएको थियो । अन्तर्राष्ट्रिय नाकामा यसरी चक्काजाम गरेको भन्ने प्रश्नमा अध्यक्ष शर्माले भन्नुभयो–“अन्तर्राष्ट्रिय नाकामा बन्दहड्ताल चक्काजाम गर्न पाइँदैन । यसबारे हामी पनि सचेत छौं । तर बाध्यता भएपछि जस्तोसुकै काम पनि गर्नुपर्दो रहेछ ।” अन्तर्राष्ट्रिय सन्धी अनुसार सीमानाका एक मिनेट पनि बन्द गर्न पाइँदैन । यता, बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका इन्जिनियर अरुण खत्रीले आगामी दसैंसम्ममा सडक बेससम्मको ग्राभेल सकिने र अन्तिम लेयर अर्थात कालोपत्रेको काम बाँकी रहने बताउनुभयो । यही असोज मसान्तसम्म ठेकेदारको म्याद रहेकोमा करिव चार महिना थप्नुपर्ने भन्दै उहाँले स्थानीयले घर भत्काउन गरेको ढिलाई, खानेपानीका पाईप बिछ्याउन र बिजुलीका पोल सार्न समय लागेकाले ढिलाई भएको बताउनुभयो । -गोरखापत्र